संविधान संशोधन प्रस्ताव मृत अवस्थामाः भट्टराई



भक्तपुर, (नेस)
नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधान घोषणा गर्ने मुख्य राजनीतिक दलहरू समझदारीबाट निर्वाचनमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ।

रफत सञ्चार क्लबले भक्तपुरमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधान निर्माण गर्ने मुख्य राजनीतिक दलहरू एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने बताउनुभयो।

मधेसवादी दलले आफ्नो हठ त्यागेर चुनावमा भाग लिएर आफ्ना एजेन्डालाई लिएर अगाडि बढ्नुपर्ने उहाँको धारणा थियो। संविधान संशोधनको प्रस्ताव मृत अवस्थामा पुगिसकेको बताउँदै उहाँले संविधान संशोधनको विषयमा एमालेको आपत्ति नभए पनि संविधान संशोधन अहिलेको अवस्थामा देशको आवश्यकता नभएको उल्लेख गर्नुभयो।

एमाले नयाँ सरकार गठनको कसरतमा नलागेको बताउँदै उहाँले निर्वाचनको पक्षमा एमाले रहेकाले कसैले भ्रम फैलाउँदैमा एमालेलाई केही फरक नपर्ने बताउनुभयो। एमालेको सम्पन्न पोलिटब्युरो बैठकले १२ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिँदै उहाँले सरकारले वैशाख महिनाभित्र जसरी पनि निर्वाचन गरिसक्नुपर्ने बताउनुभयो।

एमालेले आगामी निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने देखेर अरू राजनीतिक दल आत्तिएको उहाँले बताउनुभयो। सरकारले जेठसम्म निर्वाचन गर्ने घोषणा गरिसकेको अवस्थामा निर्वाचन मिति घोषण नगर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको आशंका उब्जाएको उहाँको आरोप थियो।

निर्वाचन अपरिहार्य भएको चर्चा गर्दै उहाँले दलहरूबीच समझदारी बनाउन नसके र चुनावको मितिसमेत घोषणा गर्न नसके वर्तमान सरकारको औचित्य समाप्त हुने बताउनुभयो।

भट्टराईले सरकार निर्वाचन चाहँदैन भने पदमा बस्नुको औचित्यता नभएको भन्दै सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे पद्मा बस्नुको औचित्य नभएको बताउनुभयो। उहाँले सबै दल मिलेर निर्वाचनको वातावरण बनाउनुपर्ने र सबै दल निर्वाचनमा भाग लिनुपर्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्