मासिक तलब पाउने भएपछि शिक्षक हर्षित



भोजपुर, ४ फागुन । मासिकरुपमा नै तलब बुझ्न पाउने भएपछि भोजपुरका शिक्षक हर्षित भएका छन् । चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका हुन् ।

शिक्षा मन्त्रालयले मासिकरुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई परिपत्र गरेको छ । यसबारे अघिल्लो महिना नै सचिवस्तरीय निर्णय भएको थियो ।

जनसेवा आधारभूत विद्यालय भोजपुरका शिक्षक नारायण राईले हर्षित हुँदै भन्नुभयो, “चौमासिक रुपमा तलब आउँदा शिक्षकले खर्च टार्न ऋण काढ्नु पर्ने बाध्यता थियो, अब सहज हुन्छ ।” शिक्षकले पनि निजामती कर्मचारीले जस्तै मासिकरुपमै तलब पाउने भएपछि खर्च व्यवस्थापनमा सहज हुने उनीहरुको भनाइ छ ।

सिंहमालिका आधारभूत विद्यालयकी प्रअ नैनकुमारी बस्नेतले भन्नुभयो, “घर पायक नपर्ने शिक्षकलाई निकै अप्ठ्यारो पर्दै आएको थियो । मासिकरुपमा तलब पाएपछि सजिलो हुनेछ । यो व्यवस्थाको स्वागत गर्दछु ।” जिल्ला शिक्षा कार्यालय भोजपुरले पनि तलबसम्बन्धी नयाँ व्यवस्था शिक्षकमैत्री भएको बताएको छ ।

दलित समुदायका कर्मचारी सम्मानित

यसैबीच, नगरस्तरीय दलित सञ्जाल समिति भोजपुरले दलित समुदायका कर्मचारीलाई सम्मान गरेकोे छ ।

सदरमुकाममा मङ्गलबार एक कार्यक्रमबीच भोजपुरकी स्थानीय विकास अधिकारी सीता परियार, जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख कृष्णबहादुर मिजार र स्वास्थ्य कार्यालयकै मेडिकल सुपरिन्टेन्डेन्ट रत्नवीर विकलाई संयुक्तरुपमा सम्मान गरिएकोे हो ।

सम्मानित व्यक्तित्वलाई सांसद जयन्ती राईले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्