सरकारले टेलियालाई लाभकरको दायित्वबाट उम्कन नदिने



नेपाल समाचारपत्र
काठमाडौं
ठूला करदाता कार्यालयले एनसेल बिक्री कारोबारमा लाग्ने पूँजीगत लाभकरको दायित्वबाट टेलियासोनेरा उम्कन नसक्ने जनाउँदै आवश्यक परे स्वीडेन सरकारसँग सरकारी स्तरमा कुरा गरेर भए पनि उसलाई जिम्मेवार बनाउने तयारी गरेको छ।

नेपाली सञ्चारसँग खुलस्त कुरा नगरे पनि स्वीडेनको राष्ट्रिय सार्वजनिक टेलिभिजन एसभिटीले बिहीबार प्रसारण गरेको अनुसन्धानमूलक कार्यक्रम अप्पड्राग ग्रान्स्कनिङ (मिसन रिभ्यु) मा ठूलाकरदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले उक्त कुराको जानकारी दिएका हुन्।

‘एनसेलको कारोबारमा लाभकर लाग्छ। हामी अहिले अनुसंधानको चरणमा छौं। टेलियाले कर तिर्नुपर्छ,’ पौडेलले उक्त कार्यक्रममा भनेका छन्। टेलियाले कर नतिरेमा कर कार्यालयले उक्त विषय सरकारी स्तरमा उठाउने छ, पौडेलले बताए।

‘टेलियाले पहलकदमी नलिए मैले कर विभागलाई जानकारी गराउनेछु, विभागले अर्थ मन्त्रालय हुँदै पराराष्ट्र मन्त्रालयलाई जानकारी गराउनेछ, जसको स्वीडेन सरकारसँग राम्रो सम्बन्ध छ। त्यसरी हामीले उसलाई पूँजीगत लाभकर तिर भन्न सक्छौं,’ पौडेल बताए।

नेपाली कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो व्यावसायिक करोबारका रूपमा चर्चित एनसेलको स्वामित्व हन्तान्तरणमा बिक्रेता टेलियाले हालसम्म पनि कारोबारको कर विवरण बुझएको छैन। उसले हल्यान्ड, क्यारेबियन र नर्वेमा रहेको जटिल कर्पोरेट ढाँचामार्फत नेपालको स्वामित्व राखेको थियो। त्यसैले शेयर कारोबारमा पूँजीगत लाभ भएको अवस्थामा त्यसको कर आफूले नर्वेमा तिर्ने अडान राख्दै आएको छ।

उक्त कार्यक्रममा पनि यही अडान दोहोर्याएका छन् टेलियाका कार्यकारी प्रमुख योहान डेनेलिन्डले। नेपालसँग नर्वेको दोहोरो कर उन्मुक्ति सम्झौता उल्लेख गर्दै उनी भन्छन् ‘हामी कर तिर्छौं यदि कानुनी आधार छ भने मात्र। कानुनी आधार नभएको कर तिर्नु कुनै विकल्प होइन र हामीमाथि करको दाबी भएको पनि छैन।’
नेपालमा संसदीय समितिदेखि कर विज्ञसमेतले एनसेलतर्फ करको दायत्वि स्थापित गर्न प्रयास गरिरहँदा कसैले पनि टेलियालाई उत्तरदायी बनाउन पहल नगरेको उक्त कार्यक्रमले खुलस्त पारेको छ।

‘कारोबार सम्पन्न हुने बित्तिकै हामीलाई नेपालको कर कार्यालयबाट कारोबार विवरण माग भएको थियो। हामीले तुरुन्तै उक्त कारोबारको विवरण दिन कानुनतः बाध्य नभएको जानकारी गरायौं। त्यसपछि हामीले कुनै पत्र पाएका छैनौं,’ डेनेलिन्ड भन्छन्।

तर उक्त कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थ सचिव रामेश्वर खनाल, विमल कोइराला, विद्याधर मल्लिकलगायतले एकै स्वरमा टेलियाले लाभकर तिर्नुपर्ने बताएका छन्।

‘लाभकर लाग्छ, टेलिया यसबाट उम्कन सक्दैन,’ महराले भनेका छन्।
‘सम्पत्ति नेपालमा छ र उक्त सम्पत्ति बेच्दा लाभ हुन्छ भने त्यसको लाभकर नेपालमै तिर्नुपर्छ। नेपालको आयकर ऐनले यही भन्छ। त्यसैले टेलियाले लाभकर तिर्नुपर्छ। राम्रो काम गरेको थियौं भनेर यसबाट उम्कन सकिंदैन। टेलियासोनेरा जस्तो कम्पनीबाट यस्तो भनाइ आउनुहुँदैन थियो,’ पूर्वअर्थ सचिव रामेश्वर खनाल भन्छन्।

‘हामीले अन्तर्राष्ट्रिय मुद्रा कोषसमेतको सहयोग लिएर आयकर ऐन बनाएका हौं। यो अन्य मुलुकका कर कानुनभन्दा आधुनिक छ। टेलियाले जस्तोसुकै संरचनामार्फत लगानी गरेको भए पनि बेचेको त यहीं भएको सम्पत्ति हो। त्यसको मूल्य पनि यहीं कारोबार गरेर बढाएको हो। त्यसैले लाभकर तिर्नुपर्छ,’ अर्का पूर्वअर्थ तथा मुख्यसचिव विमल कोइरालाले भनेका छन्।

‘नेपालमा कर तिर्नुपर्दैन भन्ने टेलियाको अडानबाट म अचम्मित छु,’ आयकर ऐन लेखनमा संलग्न तत्कालीन कर विभागका महानिर्देशक तथा पूर्वअर्थ सचिव विद्याधर मल्लिकले भनेका छन्। ‘टेलियाले यस्तो भन्नुहुँदैनथ्यो। किनभने उसले नेपालमा रहेको सम्पत्ति कारोबार गरेको हो र संसारभर लाभकर लाग्ने अवस्थामा बिक्रीकर्ताले नै तिर्ने हो।’

टेलियाकै देश स्वीडेनबाट आएर त्यहाँको टेलिभिजनले बनाएको कार्यक्रममा प्रस्तोता भन्छन् नेपालको आयकर ऐनले स्पष्ट भन्छ विदेशी स्वामित्वका लागि पनि ‘नेपालमा आय गर्ने व्यावसायिक गतिविधि वा लगानी छ भने’ कर दायित्व स्थापित रहन्छ। कार्यक्रमले टेलियालाई जिम्मेवार हुन तथा उत्तरदायित्व बहन गर्न पनि सुझाएको छ।

तर साथै कार्यक्रमका निर्माताले यो पनि भनेका छन् ‘नेपालका अधिकारी, राजनीतिक तह तथा सभासद भने टेलियालाई कर तिराउनलाई प्रयास गर्नुभन्दा एनसेल तथा खरिदकर्ता आजियाटालाई दबाब दिइरहेका छन्। यसैअन्तर्गत एनसेलले करिब १० अर्ब रुपियाँ अग्रिम कर तिरिसकेको छ। बाँकी कति तिर्नुपर्छ कसैले यकिन गर्न सकेको छैन किनभने टेलियाले कर विवरण बुझाएको छैन। बजारमा विभिन्न व्यक्तिले विभिन्न अंक सुझाए पनि कर कार्यालयले केही निक्र्योल गरिसकेको छैन।

यता टेलिया भने कुनै दाबी नआएको भन्दै थप भन्छ उसले केही गल्ती गरेको छैन र ऊ नेपालमा कर तिर्न बाध्य पनि छैन। ‘सही सँधै सही नै हुनुपर्छ। हामी कर तिर्छौ यदि कानुनी आधार छ भने। हामीले १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपियाँ) नेपालमै छाडेका छौं र करिब १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपियाँ) प्राप्त गरेका छौं, जोड घटाउ शून्य छ। नेपालको कारोबारबाट हामीले लाभ प्राप्त गरेका छैनौं,’ टेलियाका प्रमुख कार्यकारी डेनेलिन्ड भन्छन्।

प्रतिक्रिया दिनुहोस्