प्रेममा रमाए जोडीहरू



मनोज रेग्मी, काठमाडौं
गुन ३ गते भ्यालेन टाइन डे अर्थात् अंग्रेजी पात्रोअनुसार फेब्रुअरी १४ विशेष गरेर विश्वभरिका सबै नवप्रेमीहरूले मनाउने सुनौलो दिनको रूपमा चिनिने गर्दछ। आज विश्वभरि मात्र नभएर नेपालका नवप्रेमीहरूले पनि आजको दिनलाई उत्तिकै महत्त्वका रूपमा लिँदै आएको पाइएको छ।

काठमाडौंमा पनि मंगलबार धैरैजसो ठाउँमा जोडीहरूको निकै नै ठूलो भीड लागेको थियो। वसन्तपुर मन्दिर, सपिङ महल विशेष गरेर पार्कहरूमा प्रेमी–प्रेमीकाहरूको ठूलो जमघट भएको थियो। काठमाडौंको बीच भागमा अवस्थित रत्नपार्कमा पनि उत्तिकैरूपमा भीडभाड बढेको थियो।

प्रेमी–प्रेमीकाहरूले एक–अर्कालाई हेर्ने, माया प्रीतिका रमाइला गफ गर्ने, एकले अर्काको हात समाउँदै प्रेमिकालाई पानी खुवाउने जस्ता रहरलाग्दा कामले गर्दा जोडीहरूको मुख्यस्थल निकै नै रमणीय बनेको थियो। रत्नपार्कको एक कुनामा बालबालिकाका लागि निर्माण गरिएको पिङमा पनि नवजोडीहरूको घुइँचो लागेको थियो। यतिमात्रै नभएर जोडीहरूले एकले अर्काको हातमा नाम लेख्ने गरेका थिए। पार्कको विभिन्न ठाउँमा राखिएका बेन्चमा अँगालिरहेका जोडीहरू निकै नै खुसी देखिन्थे।

वसन्तपुर मन्दिरमा पनि जोडीहरूको भीडमा केही कमी थिएन। वसन्तपुरमा रहेको मुख्य मन्दिरको हरेक ढोकामा जोडीहरू खुसी देखिन्थे। पशुपतिनाथ मन्दिर वरिपरि, गोदावरी, रत्नपार्क, ड्रिम अफ गार्डेनलगायतका विभिन्न स्थानमा जोडीहरूको भीड लागेको थियो। यति मात्र नभई, एक अर्काको जुठो खानेकुरा खानाले माया झन् गाडा हुने विश्वासले गर्दा पानिपुरीको पसलमा पनि जोडीहरूको भीड लागेको दृश्य पनि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्