प्रचण्डपथ भन्नु नै गलतः वैद्य



काठमाडौं, (नेस)
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले जनयुद्धको बेला प्रचण्ड पथ भन्नु नै गलत भएको आरोप लगाउनुभएको छ। उहाँले जनयुद्धको नेतृत्व गरेको प्रचण्ड आत्मकेन्द्रित भएका कारण माओवादी सफल नभएको बताउनुभएको हो।

जनयुद्ध दिवसको उपलक्ष्यमा कुपण्डोलमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले प्रचण्डशपथ अतिवादी भएको आरोप लगाउँदै प्रचण्डकै कारण माओवादीको पतनको बाटो शुरु भएको बताउनुभयो। ‘म जेल नजानुअघिसम्म ठीक थियो तर जब ३ वर्षसम्म जेल बसें पार्टी पूरै बिग्रियो’, वैद्यले भन्नुभयो– ‘म जेल परेपछि प्रचण्डले पार्टीमा आफैंलाई सर्वेसर्वा सम्झिए।’ उहाँले जनयुद्धमा जानेबेला नारायणकाजी श्रेष्ठसँग सल्लाह भए पनि उनले नजाने भनेकाले पार्टीमा बाबुरामलाई ल्याए पनि बाबुराम पनि बिग्रिएको आरोप लगाउनुभयो।

शान्ति प्रक्रियामा आएपछि विभाजित भएको माओवादी पार्टीहरूले २२औं जनयुद्ध दिवस छुट्टाछुट्टैरूपमा मनाएका छन्। नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालयमा कार्यक्रम गरेर मनाएको छ। माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो। २०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी आक्रमण गरेर माओवादीले सशस्त्र युद्धको थालनी गरेको थियो। माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा करिब १४ हजारभन्दा बढी नेपालीले ज्यान गुमाएका थिए। मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीले ललितपुरमा कार्यक्रम आयोजना गरेर मनाएको छ। त्यसै गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माअ‍ोवादीले पनि राजधानीको खुलामञ्चमा कार्यक्रम आयोजना गरेर मनाएको छ। माओवादीबाट गलत भएर नयाँ शक्ति नेपाल पार्टी गठन गरेका डा. बाबुराम भट्टराईले भने जनयुद्ध दिवस मनाउनुभएन।

प्रतिक्रिया दिनुहोस्