दुई दशकपछि हत्यारा पक्राउ



काठमाडौं, (नेस)
झन्डै दुई दशअघि कास्कीमा भएको हत्या प्रकरणका दोषीलाई केन्द्रीय अनुसन्धान ब्युरोले इन्टरपोलको सहयोगमा साउदी अरेबियाबाट पक्राउ गर्न सफल भएको छ। नेपाली सेनाका तत्कालीन जवान नारायण अधिकारीले कास्कीका शिव थापालाई २०५५ कात्तिक ११ गते हत्या गरेर फरार भएका थिए।

ब्युरोले तत्कालीन नेपाली सेनामा कार्यरत नारायणबहादुर अधिकारी र वैदेशिक रोजगारका लागि साउदी अरब गएका जीवनबहादुर अधिकारी एकै व्यक्ति भएको पत्ता लगाएपछि उनलाई इन्टरपोलको सहायताले पक्राउ गरेको थियो। उनलाई यसअघि प्रहरीले रेडकर्नर नोटिस जारी गरेर खोजी गरिरहेको थियो।
२०५७ वैशाख १९ गते जिल्ला अदालत कास्कीले सिद्ध गाविस घर भई सिंहनाथ गण चारआली ब्यारेकमा कार्यरत सिपाही अधिकारीलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

अधिकारीले आफ्नी श्रीमती जिस्काएको भन्दै थापाको हत्या गरेका थिए।
२०५५ साल कात्तिक ११ गते सिद्ध गाविस–७ का थापाले गाउँनजिकैको वनमा घाँस लिन गएका बेला अधिकारीकी श्रीमती इन्दिरा अधिकारीलाई अभद्र व्यवहार गरेका थिए। सिंहनाथ गण, चारआली ब्यारेक झापाका सिपाही अधिकारीलाई श्रीमतीले फोन गरेर सो कुराको जानकारी दिएकी थिइन्। त्यसपछि अधिकारीले थापाको हत्या गरेका थिए। हत्यामा संलग्न अधिकारीलाई सेनाको हिरासतमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्