प्रचण्डको एउटै ढाँटले सकाउँछः विप्लव



काठमाडौं, (नेस)
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था संकटमा परेकाले देशले निकास पाउन नसकेको बताउनुभएको छ। २२औं जनयुद्ध दिवसलाई लक्षित गरी शुरु भएको पार्टीको आठौं महाधिवेशनको आइतबार राजधानीको खुलामञ्चमा उद्घाटन गर्दै सो पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद र नौलो जनवादबाटै देश समृद्धितर्फ उन्मुख हुने विचार व्यक्त गर्नुभयो। क्रान्तिबाटै वैज्ञानिक समाजवाद र नौलो जनवाद प्राप्ति हुने भन्दै क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्ने महासचिव विल्लवको भनाइ थियो।

माओवादी केन्द्रप्रति लक्षित गर्दै साम्राज्यवादका किटाणुहरू रोगसँग लड्न नसकेर लैनचौर र बालुवाटारमा छिरेर मरौं कि बाँचौं भन्ने अवस्थामा रहेको भन्दै काठमाडौंका गल्लीमा भौंतारिरहेको बताउनुभयो। वर्तमान सत्तासीन दलहरू देशलाई निकास दिनेभन्दा विदेशीको इसारामा चलेको भन्दै वर्तमान सत्ता दलालको हातमा रहेको बताउनुभयो। सरकार एकातिर र जनता अर्कातिर भएको भन्दै कुर्सीका लागि दलहरू देशलाई विखण्डन गर्न तयार रहेको बताउनुभयो।
फरक प्रसंगमा महासचिव विप्लवले प्रचण्डले दिनभरि गरेको भाषण केपी शर्मा ओलीले एउटै टुक्का भनेर सिध्याइदिने र वलीले भनेको टुक्कालाई प्रचण्डको एउटै ढाँटले सिध्याइदिने गरेको बताउनुभयो।

काठमाडौंको खुला मञ्चमा भएको महाधिवेशन उद्घाटन सत्रमा नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलबाहेक अन्य दलका नेताहरूको सहभागिता थिएन। उद्घाटन सत्र शुरु हुनुअघि खुलामञ्चलाई केन्द्रित गरी काठमाडौंका लैनचौर, बबरमहल र कालिमाटीबाट जुलुससहितको र्याली निकालिएको थियो। अधिवेशनमा देशैभरबाट हजारौंको संख्यामा जिल्लागतरूपमै बसको प्रयोग गरी कार्यकर्ता उतारिएको बताइएको छ।

माओवादीको बन्दसत्र आगामी फागुन ५ गतेदेखि जनयुद्धको उद्गम थलो मानिएको रोल्पाको थवाङमा हुने र अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजना पारित गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्