छुट्टाछुट्टै “जनयुद्ध” दिवस एक–आपसमा आरोप–प्रत्यारोप



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामि माघसम्म तीन निकायको निर्वाचन नभए देश ठूलो राजनीतिक दुर्घटनामा जान सक्ने बताउनुभएको छ। उहाँले आगामि माघसम्म देशमा तीनैतहको निर्वाचन नभए देश नयाँ ध्रुवीकरणमा जानसक्ने र देशमा निकै ठूलो आराजकताको स्थिति हुने खतरा रहेको बताउनुभएको हो।

माओवादी केन्द्रीय कार्यलय पेरिसडाँडामा आइतबार आयोजित २२औं जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले विगतमा जनयुद्ध दबाउनेहरूले अहिलेको परिवर्तनलाई स्वीकार गर्न नसकेको बताउनुभयो।

‘माओवादीलाई संसदीय चुनावबाट हराएर सबै उपलब्धि उल्टाउन पाइन्छ कि भनेर केही शक्ति लागिपरेका छन्’, उहाँले भन्नुभयो– ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता माओवादी जनयुद्धका उपलब्धिप्रति केही राजनीतिक शक्तिहरूले पचाउन सकेका छैनन्, हिजो सरकारमा रहेर जनयुद्ध दबाउन खोज्नेहरूले परिवर्तन रुचाएका छैनन्, तिनैसँग लड्नुपरेको छ।’ संघीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्रलगायतका उपलब्धि हासिल गर्न जनयुद्धको महत्त्वपूर्ण भूमिका रहेको बताउनुहुँदै जनयुद्धमार्फत् नै गणतन्त्र सम्भव भएको दाबी गर्नुभयो।

मधेसी जनतालाई अधिकारसम्पन्न बनाउनुको सट्टा नेपालबाट अलग गराउन साम्राज्यवादीहरूले उपयोग गरिरहेको आरोप लगाउनुहुँदै अहिले अन्धराष्ट्रवादले अतिवादलाई साम्राज्यवादीहरूले उपयोग गर्न सक्ने खतरा रहेको बताउनुभयो। उहाँले संविधान कार्यान्वयनबाट मात्र जनयुद्धका उपलब्धिको रक्षा हुने बताउनुहुँदै यसका लागि माओवादी घटकहरूलाई पार्टी एकतामा आउनुपर्नेमा जोड दिनुभयो। जनयुद्धको क्रममा भएका शहीद, बेपत्ता तथा घाइतेहरूको सपनालाई पूरा गर्न अन्तिमसम्म लड्ने प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभयो।

२२औं जनयुद्ध दिवस माओवादीले अलग–अलग मनाउँदै छन्। माओवादी युद्ध हुँदै शान्ति प्रक्रियामा आइपुग्दा आधा दर्जनमा विभाजित भएका माओवादीहरूबीच एकता प्रक्रिया अघि बढे पनि अझै एक हुन सकेका छैनन। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच पार्टी, नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा (माओवादी) ले आज फरक–फरक जनयुद्ध दिवस मनाएका छन्। ‘यो पटक दश माओवादी धारको एकता गरेर हामीले २२ जनयुद्ध दिवस मनाउन सफल भएका छौं’, उहाँले भन्नुभयो– ‘अर्को वर्षसम्म सबै माओवादी धारबीच एकता हुन्छ, माओवादी आन्दोलन मूलधारकै रूपमा अगाडि बढ्छ।’

प्रतिक्रिया दिनुहोस्