आईजीपी नियुक्तिमाथि रिट



नेपाल समाचारपत्र
काठमाडौं
सरकारले आगामी फागुन ३ गतेबाट रिक्त हुने नयाँ प्रहरी प्रमुखमा वरीयता मिचेर कनिष्टलाई नियुक्त गर्न लागेको भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट परेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा वरीयताको तेस्रो नम्बरमा रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्न खोजेपछि अधिवक्ता कपिलदेव ढकालले रिट दायर गर्नुभएको थियो।

नेपाल प्रहरीका वर्तमान प्रमुख उपेन्द्रकान्त अर्यालले आगामी फागुन ३ बाट अनिवार्य अवकाश पाउने भएपछि सरकारले २५औं आईजीपी चयन गर्नुपर्ने अवस्था थियो। तर आईजीपी कसलाई बनाउने भन्ने विषयमा सत्ता साझेदार दलभित्र नै विवाद भइरहेका बेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरीयतामा ३ नम्बरमा रहेका सुदूरपश्चिमका चन्दलाई आईजीपी बनाउन दबाब दिएका थिए। त्यसलगत्तै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले समेत चन्दलाई आईजीपी बनाउने फाइल तयार पार्न मन्त्रालयलाई निर्देशन दिएपछि आईजीपी नियुक्ति प्रकरणमा चरम विवाद भएको थियो।

सरकारले आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ आईजीपी नियुक्त गर्ने योजना बनाएको भए पनि सोही दिन उक्त रिटको पेसी तोकिएको छ। वरीयतामा १ नम्बरमा डीआईजीहरु नवराज सिलवाल, २ नम्बरमा प्रकाश अर्याल, ३ नम्बरमा चन्द र ४ नम्बरमा बमबहादुर भण्डारी रहेका छन्। नेपाल प्रहरीको इतिहासमा अहिलेसम्म २२ जना वरिष्ठताको आधारमा र २ जना मात्रै वरिष्ठता मिचेर आईजीपी बनेका छन्। वरीयता मिचेर सरकारले मोतिलाल बोहोरा र रमेशचन्द ठकुरीलाई आईजीपीमा नियुक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्