अख्तियारको बारेमा फेरि संसद् र अदालतमा बहस नहोस्ः राष्ट्रपति



काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका बारेमा संसद् र सर्वोच्च अदालतमा भएको जस्तो बहस आगामी दिनमा नहोस भनेर सजग हुनुपर्ने बेला आएको बताउनुभएको छ।

अख्तियार दिवसको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमान सिंह कार्कीको नाम नलिई अबदेखि अख्तियारको बारेमा संसद् र सर्वोच्च अदालतमा भएकोजस्तो बहस अब हुन नहुने उल्लेख गर्नुभएको हो।

राष्ट्रपति भण्डारीले सपथ लिएका राष्ट्रसेवकहरू जनविश्वासलाई आत्मसात गरी आफ्नो कार्यमा अब्बल हुन आवश्यक भएको उल्लेख गर्नुभयो। उहाँले जनविश्वासलाई साक्षी राखी आयोगले आफ्नो गतिविधि गर्नुपर्ने पनि जनाउनुभयो।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू राजकीय भ्रमण गएका बेलाजस्तो तीतो पीडा अब आफूले भोग्न नपरोस भन्नेमा अख्तियारसँग कामना गर्नुभयो।

अख्तियारका पूर्वप्रमुख लोकमान सिंह कार्कीले केही महिनाअघि प्रधानमन्त्री प्रचण्ड भारत गएको बेला क्यान्टोन्मेन्टमा भएको भनिएको भ्रष्टाचार काण्डलाई छानविन गर्न सम्बन्धित फाइल खोलेको जानकारी गराउनुभएको थियो। सो काण्डमा प्रचण्डलाई पनि मुछिएको छ।

प्रधानमन्त्री प्रचण्डले अख्तियार स्थापना भएको २६ वर्षसम्म पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको बारेमा चर्चा गर्दै अब अख्तियारले यस बारेमा आत्म मूल्यांकन गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो।

उहाँले निरपराधी पर्न नहुने र अपराधी उम्कन नहुने गरी अख्तियारले कार्य गर्नुपर्ने आवश्यक भएको बताउँदै निष्पक्ष, प्रभावकारीमा जोड दिनुपर्ने बताउनुभयो।

सो अवसरमा अख्तियारका कार्यबहाक प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचारको आरोपमा छानविन गर्न थप जटिल बन्दै गएको उल्लेख गर्दै निष्पक्ष भएर कार्य गर्न राष्ट्रसेवकहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा उत्कृष्ट कार्य गर्ने अख्तियारका कर्मचारी तथा निबन्धलगायतका विधामा लेख्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्