डिभी चिठ्ठा बन्द गर्न अमेरिकी संसदमा विधेयक दर्ता



काठमाडौं, (नेस) ।
अमेरिकी संसदमा डिभी चिठ्ठा बन्द गर्ने विधेयक दर्ता भएको छ। रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले डिभी चिठ्ठा बन्द गर्ने विधेयक संसदमा दर्ता गराएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाईए अनुसार अमेरिकामा आप्रवासीहरुको संख्या कम गर्नु पर्ने भन्दै उनीहरुले डिभी चिठ्ठा बन्द गर्ने विधेयक संसदमा दर्ता गरेका हुन् । प्रस्तावित विधेयकमा हाल हरेक वर्ष दश लाखले पाउँदै आएको अमेरिकामा बसोबासको वैधतालाई पाँच लाखमा झार्नु पर्ने उल्लेख छ ।

‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ नामक विधेयकलाई संसदले पारित गरे डिभी चिठ्ठा बन्द हुनेछ। उक्त विधेयक पास भएमा अमेरिकाले प्रति वर्ष ५० हजारका दरले प्रदान गर्दै आइरहेको डिभी चिठ्ठा भिसा बन्द हुनेछ ।अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि एक अन्तर्वार्ताका क्रममा ट्रम्पले पनि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए ।

सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन निर्माण भएयता अमेरिकाले डिभी चिठ्ठामार्फत आप्रवासीलाई स्थायी बसोबासको व्यवस्था गर्दै आएको छ। संसदमा दर्ता भएको विधेयक पास भएपनि सन् २०१८ को डिभी चिठ्ठालाई कुनै असर पर्ने छैन।

प्रतिक्रिया दिनुहोस्