पीडितद्वारा ११३औं पटक ज्ञापनपत्र



राम धामी, डडेल्धुरा
बाढीपहिरो पीडित भएर एक दशकबढी समयदेखि विस्थापित डडेल्धुराको साविकको जोगबुढा र शीर्ष गाविसका बाढीपहिरो विपद् पीडित नागरिकले एक सय १३औं पटक सरकारी पक्षलाई पुर्नस्थापनाको माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।

यतिपटक ज्ञापनपत्र बुझाउँदा र पटक–पटक सरकारका उच्च अधिकारीहरूसँग डेलिगेसन गएरै समस्या राख्दा पनि कुनै सुनवाइ नभएपछि हैरान उनीहरूले एक महिने अल्टिमेटम दिदैं सरकारले माग पूरा नगरे बाध्य भएर भीमदत्त राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन्।

उनीहरूको जायज मागको न सरकारले सम्बोधन गरिए दिएको छ न त दलका नेताहरूले त्यसका लागि पहल गरिदिएका छन्।

२०६५ मा रंगुन र पन्तुरा नदीमा आएको बाढीबाट विस्थापित भएका हालको परशुराम नगरपालिकाको ६ मा पर्ने साविकको जोगबुढा गाविसको २ का ५९ परिवारहरू तथा विस. २०६२ मा गएको बाढीपहिरोका कारण विस्थापित बनेका हालको परशुराम नगरपालिकाको २ र ३ रहेको साविकको शीर्ष गाविस २, ३, ४ र ५ मा बसोबास गर्दै आएका ३५ परिवारहरूले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह र प्रमुख जिल्ला अधिकारीमार्फत नै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै आगामी फागुन २० गतेभित्र विस्थापित ९४ परिवारको पुनस्थापना कार्यका लागि बजेट निकासा गरिदिन आग्रह गरेका छन्।

यदि त्यसो नगरिएमा फागुन २५ गतेदेखि भीमदत्त राजमार्ग अनिश्चितकालका लागि बन्द गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।

साविकको शीर्ष गाविसको शीर्ष गाडमा २०६२ असोजमा पहिरो खस्दा पानी थुनिएर एकैरातमा ३२ जनाको ज्यान गएको थियो। पहिरोमा परेर एउटै परिवारका ८ जनाले ज्यान गुमाएका थिए। २०६२ मा शीर्ष र २०६५ मा जोगबुढा गाविसमा आएको बाढी र पहिरोका कारण विस्थापित बनेका ९४ परिवारहरूको पुर्नस्थापनको माग गर्दै जोगबुढा बाढीपीडित संघर्ष समिति र शीर्ष पहिरो पीडित संघर्ष समितिले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै कार्यान्वयन हुन नसकेको पुर्नस्थापना कार्यको अवस्थाको जानकारी गराउन आग्रह गरेका हुन्।

उनीहरूले चालु आर्थिक वर्षमै पुर्नस्थापना गरिदिन आग्रह गरेको जोगबुडा बाढीपीडित संघर्ष समितिका अध्यक्ष नरबहादुर बमले जानकारी दिए।

बाढी तथा पहिरो पीडितहरूको संयुक्त संघर्ष समितिले अहिलेसम्म जिल्ला प्रशासन कार्यालय, प्रधानमन्त्रीको कार्यालय, मन्त्रालय स्तर, राजनीतिक पार्टी, राष्ट्रिय योजना आयोगलगायत गरी ११३औँपटक ज्ञापनपत्र बुझाइसकेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्