राजावादीहरूको भेला सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
राप्रपा नेता कमल थापासँग मतभेद भएपछि राप्रपा नेपालबाट बाहिरिएका नेता केशरबहादुर विष्टको नेतृत्वमा शुरू भएको ‘एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान’ को भेला सम्पन्न भएको छ।बिहीबार राजधानीमा आयोजित उक्त भेलामा राजसंस्थाको वकालत गर्ने विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

भेलामा अमेरिकाबाट फर्केर नेपालमा राजनीति गर्न आएका दर्शन रौनियारले भद्रगोल अवस्थामा पुगेको देशलाई सम्हाल्न र समृद्ध बनाउन नयाँ दूरदर्शी नेताको खाँचो रहेको बताउनुहुँदै आफू यही सोचेर नेपालमा राजनीति गर्न आएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘म १६ हजार किलोमिटर टाढा अमेरिकाबाट आएको छु। यो भद्रगोल अवस्थामा पुगेको देशलाई सम्हाल्न र समृद्ध बनाउन नयाँ नेताको खाँचे छ। त्यसैले म आज तपाईंहरूसमक्ष उपस्थित भएको हुँ।’

कार्यक्रममा निकै आक्रमक रूपमा प्रस्तुत हुनुभएका रौनियारले भन्नुभयो– ‘मधेस भन्ने कुरै थिएन पहिले। तराईवासी थिए। हिमालवासी थिए। पहाडवासी थिए। उनीहरू सबै नेपाली थिए। यो डिभाइड एन्ड रुल हो।’ देशलाई राजनीतिक स्थिरता आवश्यक रहेको जिकीर गर्नुहुँदै उहाँले प्रत्यक्ष रूपमा राष्ट्र प्रमुख चुन्न पाउने व्यवस्था हुनुपर्ने उहाँले तर्क गर्नुभयो।

समानुपातिकका नाममा पैसा दिएर फटाहा र लुटेराहरूले देश चलाइरहेकाले समानुपातिक चुनाव प्रणाली खारेज गर्नुपर्ने तर्क गर्नुभयो।

उहाँले धर्म निरपेक्षता खारेज गरेर हिन्दूराष्ट्र कायम हुनुपर्ने माग गर्नुहुँदै संघीयताले देश टुक्र्इउने भएकाले संघीयता नै खारेज गर्नुपर्ने माग पनि गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्