साथीले रोके किशोरी विवाह



हेटौंडा,(नेस) । मकवानपुरको फाखेल–३ मा १४ वर्षकी किशोरीको विवाह उनका साथीहरुले रोकेका छन् । दुलाहा र दुलही दुवैको घरमा गएर सम्झाइबुझाइ गरी विवाह राकिएको हो ।

एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका हेटौंडा पदमपोखरीका २३ वर्षीय विजय थिङसँग विवाहको अन्तिम तयारीमा पुगेको जानकारी पाएपछि किशोर टोली उनीहरुको घरमै गएर विवाह रोक्न सफल भएको हो । यस अघि पनि गाउँ बाल संरक्षण समिति फाखेलको टोलीले फाखेल–१ मा हुन लागेको बाल विवाह रोकेको थियो ।

फाखेल प्रहरी चौकीका प्रहरी जवान श्यामकृष्ण श्रेष्ठका अनुसार फाखेलमा क्रियाशील गाउ“ बाल संरक्षण समिति बालविवाह रोक्न सक्रिय भएको छ । समितिले स्थानीय विभिन्न संघसंस्था र प्रहरी चौकीस“गको सहकार्यमा बाल विवाह रोक्न अभियान चलाएको हो ।

फाखेलमा बालविवाह बढ्न थालेपछि समितिले अभियान चलाएको छ । गाउँ बाल संरक्षण समिति फाखेल अध्यक्ष जीवन लामा नेतृत्वको टोलीले सोमबार सम्झाइबुझाइ गरी विवाह रोकेका थिए ।

बालविवाह रोक्ने अभियानमा गाउँ बाल संरक्षण समिति, सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था, इन्द्रसरोवर युवा क्लब मार्खु, युवा महिला सञ्जाल फाखेल, प्रहरी चौकी फाखेल, गाविस फाखेललगायतको प्रयास थियो ।

बालमैत्री गाउँ विकास समितिका रुपमा घोषणाउन्मुख गाउँका लागि प्रमुख बाधकका रुपमा बालविवाह देखिएपछि न्यूनीकरणका लागि अभियान चलाइएको सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था ब्यबस्थापक सबिना लामाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्