आफ्नै विद्यार्थी बलात्कार गर्नेलाई ११ वर्ष कैद



सल्यान, (नेस)
जिल्ला अदालत सल्यानले आफैंले पढाउने विद्यार्थी बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई ११ वर्ष कैद सजाय सुनाएको छ। २०७२ साल चैत १६ गतेदेखि आफंैले ट्युसन पढाउने विद्यार्थीलाई लगातार जबरबजस्ती करणी गरेको अभियोगमा चादे करन्जी गाविस–२ का २६ वर्षीय सन्दीप खड्कालाई यस्तो सजाय सुनाएको हो।

आफैंले पढाउने विद्यार्थीलाई डरत्रास देखाई पटक–पटक बलात्कार गर्दै आएको भन्दै उनीविरूद्ध २०७३ साल जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो। जिल्ला न्यायाधीश माधवेन्द्रराज रेग्मीको इजलासले मुद्दाको सुनुवाइ गर्दै खड्कालाई ११ वर्षको कैदको फैसलासहित ५० हजार क्षतिपूर्ति भराउने आदेश दिएको हो।

मुलुकी ऐनको जबरजस्ती करणीको महलको दफा १ अनुसार बलात्कारको कसुर ठहर गरी मु.ऐ जबरजस्ती करणी महलको ३९३० नं. बमोजिम कैद ६ वर्ष र शिक्षकजस्तो संरक्षक मानिएको व्यक्तिले आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गरेको दखिन आएकाले मुलुकी ऐन जबरजस्ती करणीको महलको ३ (९) क बमोजिम थप ५ वर्ष गरी ११ वर्ष कैद सुनाएको हो।

सरकारी वकिलले पेस गरेको अभियोगपत्रका अनुसार, पीडित किशोरीलाई सन्दीप खड्काले ट्युसन पढाउँदै आएको र राति जबरजस्ती कोठामा पसेर धम्क्याउँदै पटकपटक बलात्कार गर्ने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्