भक्तपुरमा सम्बन्ध विच्छेद बढे



विपना मुसिख्वाल, भक्तपुर ।
भक्तपुरमा तीन वर्ष यता सम्बन्ध विच्छेदको मुद्दा बढ्दै गएका छन्। सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगारप्रति युवावर्गको आकर्षण, वैवाहिक सम्बन्धप्रतिको हेलचेक्र्याइँले गर्दा यहा सम्बन्ध विच्छेदको मुद्दा बढेको हो।

यस चालुु आर्थिक वर्षमा मात्र ७८ वटा सम्बन्ध विच्छेदको फैसला भएको छ भने ३६ वटा मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला अदालतको श्रेस्तेदार शाखाले जनाएको छ।। शाखाको तथ्याङ्कअनुसार गत आवमा १ सय ३९ वटा सम्बन्ध विच्छेदका मुद्दा फैसला भएका थिए। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर रहेको छ। समाजमा समलिङ्ीमय भावना र मानव अधिकारको सुनिश्चतता छ। तर हकसँगै कर्तव्यलाई ख्याल नदिँदा सम्बन्ध विच्छेदको मुद्दा बढेको स्नातकोत्तर तहमा समाजशास्त्रका प्राध्यापक केपी गौतमले बताउनुभयो।

उहाँ भन्नुहुन्छ– ‘समाजमा यसरी नै सम्बन्ध विच्छेदका घटना बढ्दै गएमा सामाजिक संरचना, ऐन, नियम तथा कानुनमा परिवर्तन गर्न आवश्यक हुन्छ। सम्वन्ध विच्छेदले दम्पत्तिभन्दा पनि उनीहरूका सन्तान तथा वृद्धवृद्धालाई नकारात्मक असर पर्ने गर्दछ। र उनीहरूको सरक्षणका लागि नै विभिन्न अनाथलय र वृद्धाआश्रम सञ्चालन गर्नुपर्नेछ।’

गौतमलाई बढ्दो सम्बन्ध विच्छेदको घटनालाई निराकरण गर्नका लागि के गर्न सकिन्छ भनी नेपाल समाचारपत्रले सोध्दा उहाँ भन्नुहुन्छ, ‘विवाह दुई व्यक्तिबीचको मात्र नभई दुई परिवारकै मिलन हो। त्यसैले वैवाहिक सम्बन्ध गाँस्दा एकअर्काको परिवार, सामाजिक स्तर र रुचीलाई बुझ्नुपर्छ। अधिकारसँगै दायित्वलाई ख्याल राख्नुपर्छ। दम्पत्तिहरूमा एक अर्कोलाई समान रूपमा लिन सक्नुपर्छ। राज्यले स्वदेशमै रोजगारको व्यवस्था गरिदिनुपर्छ।’ सम्बन्ध विच्छेदको घटनामा विगत ५ वर्षयता पुरुषभन्दा महिलावर्ग बढी आकर्षित भएको पाइने अधिवक्ता कमल खत्रीले बताउनुभयो।

उहाँ भन्नुहुन्छ– ‘पहिले महिलाहरूलाई विभिन्न आरोप लगाई पुरुष सम्बन्ध विच्छेद गर्न चाहन्थे। तर अहिले सामाजिक सञ्जाल, विश्वासको संकट, महिलामा आएको सचेतनाले गर्दा महिलाहरू सम्बन्ध विच्छेद गर्न चाहन्छन्।’ उहा“ले यसलाई निराकरण गर्न कानुनी व्यवस्था नभएको तर चेतना एकअर्काप्रतिको आत्मसम्मान, दायित्वबोध भावना विकासबाट गर्न सकिने बताउनुभयो। एक अर्काप्रतिको अविश्वास, शंका, महिलाहरूमा आएको चेतना तथा महिलामैत्री कानुनी व्यवस्थाले सम्बन्ध विच्छेदका घटना बढेको महिला तथा बालबालिका कार्यालय भक्तपुरका प्रमुख लिला पौडेलले बताउनुभयो।

उहाँले यस घटनाले महिलाहरूभन्दा पुरुषवर्ग बढी पीडित भएको जानकारी गराउनुभएको छ। अन्तरजातीय विवाह, प्रेम विवाह, बाल विवाह तथा वैदेशिक रोजगारको लागि गरिने कागजी विवाहले सम्बन्ध विच्छेदको घटना बढेको स्नातकोत्तर तहमा समाजशास्त्रका प्राध्यापक राजन चौगुठीले बताउनुभयो। उहाँले बढ्दो सम्बन्ध विच्छेदको घटनाले समाजमा असामाजिक तत्व, सामाजिक विसंगति तथा वेश्यावृत्तिका घटना बढ्न सक्ने उल्लेख गर्नुभयो।
(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्