बाध्यताले मुनाजलाई बाँच्न र बचाउन सिकायो



क्लेटन कोन, मेक्सिको सिटी, बीबीसी वल्र्ड सर्भिस

वर्षौंसम्म मेक्सिको सिटीका सडकहरुमा देहव्यापार गर्दै जाँदा एकदिन कारमेन मुनाजले उमेर ढल्केपछि आफू जस्तै देहव्यापारी महिलाहरुले के गर्लान् भनी सोच्न थालिन् । अन्ततः उनी देहव्यापारीहरुका लागि एउटा वृद्धाश्रम खोल्ने अभियानमा जुटिन् । साह्रौं शताब्दीमा बनेका घरहरु रहेको मेक्सिको सिटीको ऐतिहासिक शहर प्लाजा लोरेटोमा उनले यस बदनाम व्यवसाय शुरु गरेकी थिइन् ।

कामको खोजीमा त्यहाँ पुगेकी उनले सान्टा टेरेसा ला नुएभा चर्चका धर्माधिकारीले कहिलेकाहीँ दुःखी महिलाहरुका लागि घरेलु कामदारको जागिर खोजिदिने गरेको सुनेकी थिइन् । त्यतिबेला बाइस वर्षकी अशिक्षित उनको सात जना सन्तान पाल्नुपर्ने दायित्व थियो । एउटा काखे बच्चा त उनीसँगै बोकेर हिँड्ने गर्दथिन् ।

चार दिन चिन्तित अवस्थामा पर्खेपछि बल्ल उनको ती धर्माधिकारीसँग भेट भयो । तर उनले मुनाजलाई निरास पारिदिए । उनले झर्कंदै ‘लाखौं काम छन्, यहाँ वरपर, आफै खोज्नू’ भनेको कुराले चित्त दुखाउँदै हिँडिरहेका बेला एक जना अपरिचित महिला उनलाई सान्त्वना दिन आइन् । उनले पर उभेको एक जना पुरुषलाई देखाउँदै भनिन्– ‘ऊसँग जाने हो भने उसले तिमीलाई १ हजार पेसो दिन्छन् ।’

कुरो नबुझेकी मुनाजले भनिन्– ‘मैले जीवनमा अहिलेसम्म एकै स्थानमा १ हजार पेसो देखेको छैन । ऊसँग कहाँ जाने होला?’ उनले भनिन्– ‘कोठामा जाने ।’ फेरि मुनाजले सोधिन्– ‘कोठामा के काम गर्ने?’ उनले भनिन्– ‘हैन, तिमीले बुझिनौ, होटेलमा जाने क्या … ।’ त्यसपछि उनले मुनाजलाई सबै कुरा सीधा बताइदिइन् । उनी फोहर कुरा सुनेपछि स्तब्ध भइन् । उनले भनिन्– ‘ओह⁄ सिनोरिता … नो .. नो … नट द्याट ।’ ती महिलाले उनलाई बहकाउन् खोजिन्– ‘तिमी फोहर धुनलाई पुग्ने पैसा पनि नदिने लोग्नेलाई चाहिँ त्यो चिज दिन्छ्यौ ।

त्योभन्दा त तिम्रा सन्तान पाल्न पुग्ने गरी पैसा दिनेहरुका पछि लाग्दा राम्रो नि ।’ उनको दिमागले सही काम गर्न सकेनन् । बरु उनी लुरुलुरु ती पुरुषको पछि लागिन् । तर रुँदै गरेकी उनको दशा देखेर ती पुरुषको मन पग्लेछ । उनले आफूलाई बदलामा केही नचाहिने भन्दै उनको हातमा १ हजार पेसो राखेर हिँडे । सायद उनलाई भोलि मुनाज त्यही ठाउँमा भेटाउने विश्वास थियो । त्यस्तै भयो । उनी भोलिपल्ट पनि त्यहीं पुगिन् । तर उनको दुःख साहसमा बदलिसकेको थियो । त्यो दिनदेखि उनका सन्तानले कहिल्यै भोकै सुत्नु परेन ।

त्यसको चालिसवर्ष पछिसम्म उनले सोही प्लाजाका सडकमा उभिएर ग्राहक कुरिन् । लोग्नेले पनि घिन लाग्ने आइमाई भन्दै उनलाई त्यागे । देहव्यापार सोचेजस्तो सजिलो पेसा थिएन । प्रहरी र दलालहरुले पैसा लिने, ग्राहकबाट पिटिने सामान्य घटना थियो । विस्तारै उनी लागूऔषध र रक्सीको कुलतमा पनि फसिन् । तैपनि त्यसरी कमाएको पैसाले सन्तान हुर्काउन पाएकोमा भने उनी पेसाप्रति कृतज्ञ थिइन् ।

यसै क्रममा उनले उमेर ढल्दै गएका आफ्ना सहकर्मीलाई सडकमा अलपत्र लडिरहेको धेरैपटक भेटाइन् । यद्यपि उनले तिनीहरुलाई सक्दो सहयोग गरिन् । तर उनी तिनीहरुका लागि केही स्थायी बन्दोबस्त गर्न चाहन्थिन् । उनले १३ वर्षसम्म लगातार देहव्यापारी महिलाहरुका लागि वृद्धाश्रम बनाउन स्थानीय निकायहरुमा पहल गरिन् । चर्चित कलाकारहरुको समर्थनमा यौनकर्मीहरुको समूहले आखिर सरकारलाई मनाउन सफल भयो । यसका लागि तिनीहरुलाई प्लाजानजिकैको एउटा अठारौं शताब्दीको भवन दिइयो ।

सो घरको उद्घाटनका बेला तिनीहरुको खुसीको सीमा नै थिएन । पूर्व बक्सिङ म्युजियम रहेको सो भवनको सरसफाइपछि आखिर सन् २००६ मा तिनीहरु त्यहा“ बस्न थाले । महिलाहरुको सौन्दर्य र यौनशक्तिकी देवी एज्टेकको नामबाट सो भवनको नाम ‘कासा छोछिक्वेत्जल’ राखियो । अहिले त्यहा“ थुप्रै पूर्वदेहव्यापारी वृद्धाहरु रमाइलोसँग उत्तरार्ध जीवन काटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्