खेतीयोग्य जमिन मासिँदै



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे

तरकारी र अन्य कृषि उत्पादनमा प्रमुख योगदान पु¥याउँदै आएको काभ्रे जिल्लाकै उर्वराभूमि मण्डनभेग आसपासका अन्य गाविसहरूमा खेतीयोग्य जमिन मासिँदै गएको छ।

भूकम्पले ९५ प्रतिशत भन्दा धेरै घर क्षति भएको यसभेगमा निर्माण सामाग्रीको अभाव भएको र पाइए पनि महंगो भएका कारण यसरी आफैंले इँटा पारेर घर बनाउनेहरूको संख्या यहाँ धेरै छ। त्यसैले मंसिरमा धान काटेर जमिन बाँझै राखेर त्यहाँकै माटो झिक्दै अहिले इँटा बनाउनेहरू बढ्दै गएका छन्। यसरी इँटा बनाउँदा त्यहाँ कृषि उत्पादन भने घटेको छ।

’पहिले बास नै प्रमुख रहेछ , अनि मात्र खानेकुराको चिन्ता जस्तो लागेर खेतमा इँटा बनाउन लागेका हौं।’ चण्डेनीमण्डन स्थित आँपचौरका केशव माझी भन्छन् –’एउटा घर बनाउने इंँटा करिव २ लाख रूपैयाँको लाग्छ। आफैंले बनाउने हो भने १ लाख जति खर्चमा ३० हजार वटा इँटा बनाउन सकिने रहेछ। त्यसैले यहाँ धेरै जसोले जमिन बाँझो राख्दै इँटा बनाउने गरेका छन्।’ अहिले एउटा इँटाकै १५ रूपैयाँ भन्दा धेरै पर्ने भएकाले यसो गर्नु परेको उनले बताए।

आफ्नै प्रयोगका लागि त छँदै छ , बढी भयो भने महंगोमा बेच्न पनि पाइने भएपछि यसरी इँटा पार्नेहरूको संख्या बढेको जोगिटारका स्थानीय ऋषिराम नेपालले बताए। यस प्रतिनिधी उनको गाउँ पुग्दा ऋषिरामका बुबाछोरा नै इँटा पार्ने काममा लागिरहेका थिए। आँपचौर, माइटार , हलेदेटार, जोगिटार र कुन्तावेसि लगायतका स्थानमा यतिबेला धेरैजसो खेतीयोग्य जमिन बाँझै राख्दै इँटा बनाएर व्यवसाय नै चलाउनेहरू बढेको नेपालले जानकारी दिए।

उनको अनुमानमा यसभेगमा १ सय भन्दा धेरै इँटा भट्टाहरू बनिसकेका छन्। परम्परागत खेती गरेर आउने आम्दानी भन्दा इँटा पारेर आउने आम्दानी ३ गुणाले वढी छ। त्यसैले पनि यसरी जमिन मासेर इँटा बनाउनेहरूको संख्या बढेको स्थानीयवासीहरू बताउँछन्। कतिपयले त जमिन भाडामा दिने र इँटा बनाएर व्यापार गर्ने गरेको पनि पाइएको छ।

अहिले यसभेगमा घर बनाउने प्रतिस्पर्धा चलेको छ। कसले कस्तो घर बनाउँछ, कस्ता घर बनाउँदा कति खर्च लाग्छ र के गर्दा धेरै फाइदा हुन्छ भनेर मानिसहरू जग्गा जमिनको संरक्षण भन्दा पनि घर बनाउने प्रतिस्पर्धामा लागेको पाइन्छ। ’जसले क्षणिकरूपमा केही फाइदा त पुग्ला तर दीर्घकालीन रूपमा यसले सन्ततीहरूलाई समस्या पर्न सक्छ।’ धुर्मुश सुन्तली फाउन्डेशनका इञ्जिनियर अर्जुन न्यौपाने भन्छन्, ’बलियो घर बनाउन इँंटा नै चाहिन्छ भन्ने छैन।

गाउँघर र खोलातिर पाइने ढुङाहरूको प्रयोग गरेरै पनि राम्रो र बलियो घर बनाउन सकिन्छ। त्यसैले प्रतिस्पर्धात्मक रूपमा भइरहेको इँटाको प्रयोग रोकेर जमिन बचाउनतिर लाग्ने हो भने भविष्यमा पछुताउने दिन आउँदैन।’ जुन ठाउँमा इँटाको विकल्प छैन, त्यहाँ त चाहियो नै तर इँटाको विकल्प भएको ठाउँमा जमिन जोगाउन उनको भूकम्पपीडितहरूलाई सुझाव छ ।

खेती गर्ने मलिलो माटो जति इँटामा सकिन्छ। जमिनको सतह भन्दा तलको माटोमा उत्पादन राम्रो हुँदैन। त्यस्तै माटो बनाउन अरू ५० वर्ष लाग्छ। त्यसैले यहाँबाट उत्पादन घट्ने निश्चित छ। तर पनि स्थानीयहरूले इँटा बनाउनु नै अहिलेको फाइदा देखेका छन्।

घर बनाउने अन्य विकल्प पनि नभएकाले आफूहरूले यसरी खेतीयोग्य जमिनको नोक्सान गर्नु परेको स्वयं पीडितहरूले स्वीकार गरेका छन्। भूकम्पपीडितहरूको साझा गुनासो छ, ’कि सरकारले विकल्प देओस् अन्यथा हामीले नचाहेरै पनि जमिन मास्नु परेको छ। हाम्रो बाध्यता कसले बुझ्ने खै ?’ खेतमा इँटा पार्न थालिएपछि यसभेगबाट हुने कृषि उत्पादनमा २० प्रतिशतले कमी आइसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्