सरकारमा बस्ने औचित्य सकियो: डा. लोहनी



नेपाल समाचारपत्र
काठमाडौं
राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिने बताउनुभएको छ। उहाँले पार्टीलाई राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्न र खास गरी सम्वद्र्धनवादी दल बनाउनका लागि नेतृत्व गरौं भन्ने आफ्नो चाहना रहेको बताउनुभएको छ।

अध्यक्ष लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकाले छिट्टै मन्त्रीहरूलाई फिर्ता बोलाउने पनि बताउनुभएको छ। राजधानीमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लोहनीले सरकारमा राप्रपाको उपस्थिति भए पनि कुनै पनि कुरामा साझेदारी नभएको गुनासो गर्नुभएको थियो। सरकारको महत्वपूर्ण काम तथा निर्णयहरूमा राप्रपाको कुनै साझेदारी देखिएन भन्दै उहाँले भन्नुभयो– ‘सरकारमा रहिरहने कुरा अब स्वीकार गर्न सकिँदैन, यसबारेमा पार्टीभित्र पनि गम्भीर कुरा उठेको छ।’

आफ्नो पार्टी अब सरकारमा रहने कि नरहने भन्नेबारेमा पार्टीभित्रको कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने उहाँको भनाइ थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारको चुनाव गर्ने खालको नियत नभएको भन्दै उहाँले संवैधानिक आयोगले अघि सारेको प्रतिवेदनको निहुँ निकालेर अहिले विभिन्न बखेडा झिकेर यो चुनावलाई पन्छाउने काम भइरहेको आरोप पनि लगाउनुभएको थियो।

संसद्मा टेबुल भएको संविधान संशोधन विद्येयकको कुनै औचित्य नै नरहेको दाबी गर्दै उहाँले अहिले अघि सारिएको संशोधनले मुलुकको हित नगर्ने पनि बताउनुभएको थियो। संशोधनमा उल्लेख गरिएको कतिपय विषयले देशको राष्ट्रिय हित गर्दैन भन्दै उहाँले ५ नम्बर प्रदेशको सीमांकन हेरफेरको विषय र नागरिकताको प्रावधान गलत भएको बताउनुभएको थियो। अहिले संशोधन प्रस्तावलाई एकठाउ“मा था“ती राखेर निर्वाचनमा जानुपर्ने सुझाव पनि उहाँले दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्