साठीवटा क्याम्पसमा एकैपटक सूचना माग



काठमाडौँ, २४ माघ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ ।

सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा आइतबार काठमाडौँ उपत्यकालगायत मुलुकभरका ६० क्याम्पसबाट सूचना माग गरिएको हो ।

फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल र सूचनाको हकका अभियन्ता कुमार चौलागाईंले आफ्नो अध्ययन एवम् जानकारी प्रयोजनको निमित्त नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र दफा ७ (१) बमोजिम ती सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि उपलब्ध गराई दिनुहुन हुलाकमार्फत निवेदन दर्ता गर्नुभएको प्रमुख दाहालले जानकारी दिनुभयो ।

उहाँहरूले निवेदनमा त्यस क्याम्पसको आन्तरिक लेखापरीक्षणका लागि त्रिवि केन्द्रीय कार्यालयको आन्तरिक लेखापरीक्षण महाशाखाबाट खटिई आउने टोलीको नामावली र केन्द्रबाट त्यस क्याम्पसलाई लेखेको पत्रको प्रमाणित प्रतिलिपि, त्यस क्याम्पसको आव २०७२÷७३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि, त्यस क्याम्पसको आन्तरिक लेखापरीक्षण कार्य कुन मितिदेखि सुरु भई कति दिनमा सम्पन्न भयो ? सो आन्तरिक लेखापरीक्षण अवधिमा के के शीर्षकमा कति खर्च भएको छ ? सो वास्तविक खर्चको स्वीकृत विवरणको प्रमाणित प्रतिलिपि तथा त्यस क्याम्पसमा सूचनाको हकसम्बन्धी ऐनको दफा (६) बमोजिम कसलाई सूचना अधिकारी तोकिएको छ ? सूचना अधिकारीको नाम, पद, फाँट, सम्पर्क नम्बर र कोठा नं सहितको विवरणको प्रमाणित प्रतिलिपि माग गर्नुभएको छ ।

प्रमुख दाहालले सूचनाको हक प्रत्याभूति भएको २५ वर्ष तथा सूचनाको हकसम्बन्धी ऐन आएको १० वर्ष हुँदासम्म पनि सूचनाको हकबारे जनता अझै अनभिज्ञ रहेकाले आफूले सूचना माग गरेको उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्