मोर्चाका कार्यकर्ताद्वारा पुनर्संरचना आयोगको प्रतिवेदन जलाइयो



शिवहरिप्रसाद भट्टराई, राजविराज
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले आइतबार राजविराजमा स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन जलाएका छन्।

आयोगको प्रतिवेदन अव्यवहारिक, अवैज्ञानिक र स्थानीय जनताको भावना विपरीत भएको भन्दै जलाइएको हो। त्यसलाई कुनै पनि सर्तमा कार्यान्वयन हुन नदिने मोर्चाका कार्यकर्ताले उद्घोष गरेका छन्।

मोर्चाका कार्यकर्ताले स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदनस“गै नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध पनि नाराजुलुस गरेका छन्। संसद्मा प्रस्तुत भएको संविधान संशोधन प्रस्ताव पारित हुन नदिएको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध नारावाजी गरिएको थियो।

विरोध प्रदर्शनसहित स्थानीय नेता चौकमा पुगेका मोर्चाका कार्यकर्ताले प्रतिवेदनको खाका जलाउ“दै समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम नभएसम्म अवको मधेश आन्दोलन नरोकिने चेतावनी दिएका छन्। स्थानीय निकायको पुनर्संरचना जनसंख्याको आधारमा नभएको भन्दै यसले समावेशी र समानुपातिक भावनासमेत समेटन नसकेको संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक यादवले आरोप लगाए।

यसै गरी, सदभावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य विजयकुमार यादव, तराई मधेस सद्भावना पार्टीका केन्द्रीय सदस्य कपिलदेव यादवलगायतले पनि देशमै सबैभन्दा बढी गाविस भएको सप्तरीलाई अहिलेको संरचनामा गाउ“पालिका र नगरपालिकाको संख्या पनि कम बनाएर प्रस्तुत गरेको भन्दै विरोध गरे।

प्रतिक्रिया दिनुहोस्