सल्यानमा भालु आतङ्क



सल्यान, २३ माघ । पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।

कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्चुलामा भालुले मानिसलाई घरमै आएर आक्रमण गर्न थालेको छ । भालुले यही माघ १७ गते कालीमाटी रामपुर–६ कालाखोला निवासी ५४ वर्षीय डम्बरबहादुर वलीलाई राति आक्रमण गरी गम्भीर घाइते बनाएकामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि पनि भालुले कालिमाटी रामपुरका दुई र लक्ष्मीपुर गाविसका एक जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीयवासी वीरबहादुर वलीले जानकारी दिनुभयो ।

“साँझ ५ बजेपछि बच्चासहित भालु गाउँमा आउँछ, बाटोमा हिँड्ने जोसुकैलाई पनि आक्रमण गरेर घाइते बनाउँछ । भालुले गाउँमा आतङ्क मच्चाउन थालेपछि हामीहरु त्रसित छौँ”, कालीमाटी रामपुर–३ सिमलकुनाका कुलप्रसाद भण्डारीले भन्नुभयो ।

भालुले गाउँमा आएर मौरीका घारमा पसेर खान थालेको कालिमाटी रामपुर–६ का चन्द्रबहादुर वलीले जानकारी दिनुभयो । तीन महिनादेखि भालुले आतङ्क फैलाएपछि मानिस मेलापात, जङ्गल जान छाडेको लक्ष्मीपुर–१ का नारायण खत्रीले जानकारी दिनुभयो ।

“जङ्गलको बाटो छ, एक्लै हिँड्न सकिँदैन, मोटरसाइकलमा चढेकालाई समेत लखेट्न थालेको छ”, खत्रीले भन्नुभयो । भालुले सताउन थालेपछि ५ बजे नै गाउँघर सुनसान हुन थालेको छ । जङ्गलमा खानेकुरा कम हुन थालेपछि भालु गाउँघरमा पस्न थालेको निगाल्चुला–४ का गोविन्द डाँगीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्