विकृति निमिटइन्न पार्नुपर्छः न्यायाधीश

0
Shares

काठमाडौं, (नेस)
सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले समाजको विकृतिलाई उजागर गरेर निमिटइन्न पार्नका लागि सबै मिल्नुपर्ने उल्लेख गर्नुभएको छ।

दण्डपाणि नन्दकुमारी स्मृति केन्द्रद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश पराजुलीले समाज परिवर्तन गर्नका लागि सबै मिलेर विकृति उजागर गर्नुपर्ने उल्लेख गर्नुभएको हो।

सो कार्यक्रममा संस्कृति क्षेत्रमा उल्लेख्य योगदान दिनुभएका संस्कृतिविद् जगमान गुरुङलाई दण्डपाणि–नन्दकुमारी अज्र्याल स्मृति पुरस्कार प्रदान गरिएको थियो। विमोचन भएको ‘माल्भा’ नियात्रा सङ्ग्रहमा १५ वटा सामग्री समावेश गरिएको छ।

विगत लामो समयदेखि अमेरिका बसेका लेखक अर्यालले देखेका र अनुभूत गरेका जनजीवन, चालचलन, बानी व्यवहार, संस्कृति, सभ्यता, तौरतरिका, दृष्टिकोण, भावना, विश्वास र समर्पणलाई कलात्मकरूपमा पाठकसामु प्रस्तुत गर्नुभएको छ। लेखक अर्यालको यो कृति तेस्रो हो। यसभन्दा अगाडि पनि एउटा नियात्रा र अर्को कथा संग्रह प्रकाशित भइसकेका छन्।

विमोचन भएको कृति माल्भाको बारेमा साहित्यकार डा. रामप्रसाद ज्ञवालीले समीक्षा गर्नुभएको थियो। सो अवसरमा साहित्यकार ज्ञवालीले विशेष गरी अमेरिकी परिवेशमा लेखिएको नियात्रा सुन्दर पाराले सजाइएको उल्लेख गर्नुभएको थियो। साहित्यकार ज्ञवालीले अमेरिकी परिवेशमा हुने गरेका कतिपय कुराहरूलाई रोचक पाराले लेखिएका कारण ‘माल्भा’ पढ्दा उपयुक्त नै हुने जनाउनुभयो।

यसै गरी कार्यक्रममा विमोचन भएको अर्को पुस्तक प्रसिद्ध साहित्यकार सीता अर्यालको कथा संग्रह ‘उपहार आँसुको’ हो। विमोचन कार्यक्रममा उक्त कथा संग्रहको बारेमा समीक्षा गर्दै साहित्यकार डा. रजनी ढकालले कथामा सजिएका विभिन्न परिवेशले साहित्यमा एक इँटा थप्न सफल भएको उल्लेख गर्नुभएको थियो।

साहित्यकार ढकालले कथा पढ्दा अमेरिकामा हुने गरेका यथार्थलाई उजागर गर्ने प्रयास गरेको अनुभूति हुने टिप्पणी गर्नुभयो। उक्त कथा संग्रहमा २० वटा कथा समावेश गरिएका छन्।

विमोचन गरिएको अर्को कृति ‘ज्ञानविन्दु पनि हो। दण्डपाणि अज्र्याल स्मृति केन्द्रद्वारा प्रकाशित गरिएको सो कृतिका सम्पादकमध्येका साहित्यकार विष्णु प्रभातले त्यसमा समावेश भएको सामग्रीको बारेमा जानकारी दिनुभएको थियो। सो कृतिमा खोजमूलक लेख र साहित्यिक कृति समावेश गरिएको छ। केन्द्रले हरेक वर्ष ज्ञानविन्दु प्रकाशित गर्दै आएको छ। यो दशौं संस्करण हो।

Skip This