अबको चुनाव जित्नैपर्छः देउवा



काठमाडौं, (नेस)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा जुट्न पटक–पटक निर्देशन दिँदै आउनुभएको छ। साथै उहाँले केन्द्रीय निर्वाचनलाई समेत प्रभाव पार्ने भएकाले स्थानीय निर्वाचन नेपाली कांग्रेसले जित्नैपर्ने पनि बताउँदै आउनुभएको छ।

सभापति देउवा मात्र हैन कांग्रेसका शीर्ष नेता सबैले कार्यकर्तालाई निर्वाचन केन्द्रित भएर लाग्न आग्रह गरिरहेका छन्। सभापति देउवाले शुक्रबार पनि नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् भेलालाई सम्बोधन गर्दै स्थानीय निर्वाचनमा जित्ने गरी तयारी गर्न मजदुर नेताहरूलाई आग्रह गर्नुभयो। उहाँले चुनाव जित्न सक्नेहरूलाई मात्रै पार्टीले स्थानीय निर्वाचनमा उम्मेदवार बनाउने पनि बताउनुभयो।

सभापति देउवाले कार्यकर्ता तथा नेताहरूलाई चुनाव केन्द्रित भएर लाग्न निर्देशन दिए पनि आफैंले भने पार्टी संगठनलाई मजबुत बनाउन विधानअनुसार दुई महिनाभित्र गरिसक्नुपर्ने काम एक वर्ष बित्न लाग्दा समेत गर्नुभएको छैन।

सभापतिले केन्द्रीय समितिलाई पू्र्णता दिन अझै नौ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ। पार्टीको विधानअनुसार पदाधिकारीका लागि निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्नुपर्नेछ। सभापतिले विधानअनुसार ४२ वटा केन्द्रीय विभाग गठन गर्न पनि बाँकी छ।

पार्टीलाई प्रभावकारी ढंगले अघि बढाउन संसदीय समिति, संसदीय दल कार्यसमितिलाई पनि पूर्णता दिन सक्नुभएको छैन। केन्द्रीय कार्यसमितिले गर्ने विभिन्न निर्णय तथा स्थानीय तहको निर्वाचनका सवालमा विभिन्न निर्णय गर्नका लागि कार्य सम्पादन समिति र संसदीय समितिको भूमिका महत्त्वपूर्ण मानिन्छ।

संसदीय समिति गठन गर्नका लागि पनि सभापतिले बाँकी पदाधिकारीको मनोनय गर्नु जरुरी छ। कांग्रेसको विधानअनुसार संसदीय समितिले स्थानीय निर्वाचनमा उम्मेदवार चयनका लागि पार्टीको जिल्ला कार्यसमिति तथा क्षेत्रीय कार्यसमितिलाई निर्देशित गर्छ।

सभापति देउवाले शुक्रबार पार्टीको भ्रातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसको दुईदिने राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्ने क्रममा मुलुक चुनावतर्फ उन्मुख भइरहेको तथा यस सन्दर्भमा व्यवस्थापिका–संसद्बाट स्थानीय निर्वाचनका लागि आवश्यक विधेयक पारित भइसकेको र निर्वाचन आयोगले पनि पूर्णता पाएको भन्दै स्थानीय निर्वाचनको मिति जुनसुकै समयमा घोषणा हुन सक्ने बताउनुभएको छ। देउवाले पार्टी संगठनलाई पूर्णता दिने बारेमा भने केही बताउनुभएको थिएन।

कार्यक्रममा उपस्थित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायत शीर्ष नेताहरूले पनि संविधान कार्यान्वयन गर्न निर्वाचन अपरिहार्य भएको भन्दै स्थानीय निर्वाचनमा जुट्न आफ्ना कार्यकर्तालाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्