सार्वजनिक शिक्षामा रुपान्तरणका लागि सम्मेलन



काठमाडौँ, २१ माघ । सार्वजनिक शिक्षाको सुदृढीकरण र रुपान्तरणका लागि निजी क्षेत्रसहित ‘ग्लोबल पिस फाउन्डेसन’ (जिपिएफ) र विभिन्न संस्थाको आयोजनामा आजबाट दुईदिने शैक्षिक सम्मेलन सुरु भएको छ ।

एक्काइसौँ शताब्दी अनुकूल शिक्षाका लागि शिक्षा र रोजगारबीचको खाडलको अन्त्य भन्ने लक्ष्यका साथ शिक्षा प्रणालीको सुधारमा कार्यरत करिब दुई सय सहभागी सम्मेलन हुनेछन् । सम्मेलन ग्लोबल एक्सन नेपाल, भानोदय प्रावि, वातावरण शैक्षिक केन्द्र, लुम्बिनी वल्र्ड पिस फोरम, किङ्स कलेज, कुल ल्याब र काञ्जिरोवा राष्ट्रिय माविको सहकार्यमा आयोजना भएको हो ।

सम्मेलनको उद्घाटन सत्रमा आयोजित कार्यक्रममा जिपिएफका कार्यकारी निर्देशक रामरोहन पन्तले शिक्षामा रुपान्तरण, नेतृत्व विकास र समृद्धिको आधार निर्माणका लागि शिक्षकको भूमिकाको खोजी गरिने बताउनुभयो ।

जिपिएफको ‘ग्लोबल पिस एजुकेसन’ इकाइले दिगो विकासमार्फत् शान्तिको लक्ष्यसहित शिक्षा सुधारमा वकालत थालेको हो ।

ग्लोबल एक्सन नेपालका निर्देशक बिके श्रेष्ठले शिक्षा सुधारका लागि सरकारी नीति निर्माता र शिक्षाकर्मीले कक्षा कोठामै के परिवर्तन ल्याउन र सिकाइलाई जीवनसँग अन्तरसम्बन्धित कसरी गर्ने भन्ने सोच्नुपर्ने बताउनुभयो ।

कार्यशाला बालबालिकाले खोजेको सीप र उनीहलाई कसरी पूर्णबालक बनाउने भन्नेबारेमा शिक्षाकर्मीले सिकाइ हासिल गर्न मञ्च प्रदान हुने जनाइएको छ ।

काञ्जिरोवाका प्रधानअध्यापक महेन्द्र खनालले शिक्षा सुधारका लागि अभिभावकको जाकरुकता र सरोकारवालाको चासो बढ्नुपर्र्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्