शास्त्रीय संगीतमा कल्याण कोष



नेपाल समाचारपत्र
ललितपुर
नेपाल मै पहिलोपटक शास्त्रीय संगीतमा लागेकाहरूले कल्याण कोषको स्थापना गरेका छन्।

ललितपुरस्थित यलमाया शास्त्रीय संगीत केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच संगीतकर्मीहरूले उक्त कल्याण कोषको स्थापना गरेका हुन्। शास्त्रीय संगीत क्षेत्रमा लागेकाहरूको स्वास्थ्य तथा विभिन्न समस्याहरूलाई मनन गरी संगीतकर्मीहरूकै पहलमा उक्त कल्याण कोषको स्थापना गरिएको हो। जीवन आले संयोजक रहेको उक्त कोषको सदस्यहरूमा धनबहादुर गोपाली, रविनलाल श्रेष्ठ, सरिता मिश्र, परशुराम पौडेल, शालिग्राम घिमिरे र महेन्द्र श्रेष्ठ सदस्य रहेका छन्।

राज्यस्तरबाट शास्त्रीय संगीतकर्मीहरूका लागि कुनै दीर्घकालीन सहयोग जुटाउन नसकेको अवस्थामा यस प्रकारको कल्याण कोषको स्थापनाले ठूलै सहयोग मिल्ने आशा गरिएको छ। कोषका संयोजक जीवन आलेले शास्त्रीय संगीत क्षेत्रमा यो नै पहिलो कल्याण कोषको स्थापना भएको बताएका छन्। उनले भने– ‘नेपालमा शास्त्रीय संगीतमा लाग्नेहरू धेरै छन्। तर शास्त्रीय संगीत क्षेत्रमा लाग्नेहरूको यकिन रूपमा सरकारले लेखाजोखा राख्न सकेको छैन। न त जीवनयापनप्रति नै सरकारले कुनै गम्भीर चासो देखाएको छ। यसै कारण पनि निजीस्तरबाट यस्तो कल्याण कोषको स्थापनाले भविष्यमा शास्त्रीय संगीतको उत्थानमा ठूलो मद्दत पुग्ने विश्वास लिएका छौं।’

उक्त कल्याणकोष स्थापना भएको साता दिनमै क्यान्सरबाट दिवंगत भएका तबला बादक पण्डित होमनाथ उपाध्यायको परिवारलाई उपचारका लागि नगद रु.१ लाख सहयोग प्रदान गरिएको थियो। यसै गरी अल्का अस्पतालमा उपचारार्थ वरिष्ठ शास्त्रीय गायक पूर्णबहादुर थापालाई पनि नगद रु. ५० हजार उपचारका लागि सहयोग गरिएको छ। संयोजक आलेले कल्याणकोष अझ बृहत् रूपमा संस्थागत बनाउन विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँगसमेत अपिल गरेका छन्। जसअनुसार उनले कोषमा सहयोग जुटाउन चाहनेहरूलाई नबिल बैंकमा खाता नम्बर १५१००१७५०५८७९ रहेको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्