अख्तियारले एनसेलको कर छलीका विषयमा अनुसन्धान गर्ने



नेपाल समाचारपत्र
काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एनसेलले कर छलेको विषयमा अनुसन्धान प्रकृया थालेको छ। आयोगमा बुधबार भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता जीवराज कोइरालाले एनसेलको कर छलेको विषयमा प्रारम्भिक अनुसन्धान प्रकृया शुरू भएको जानकारी दिनुभएको हो।

आयोगले आफ्नो वार्षिक कार्यविवरण राष्ट्रपतिलाई बुझाएपछि गरिएको पत्रकार सम्मेलनमा एनसेलको कर छलीको विषयमा अनुसन्धान गर्न संसदीय समितिले पठाएको र त्यसबारेमा अनुसन्धान शुरू भएको बताइएको हो। क्यान्टोन्मेन्ट भ्रष्टाचार प्रकरणमा भएको छानविन अहिले कहाँ पुग्यो भन्ने प्रश्नमा अख्तियारका प्रवक्ता कोइरालाले यस विषयमा हाल प्रश्न नसोध्न पत्रकारहरूलाई आग्रह गर्नुभयो।

सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको सपथदेखिकै कार्य अवैध भएको ठहर गरेपछि उहाँको कार्यकालमा गरिएका कार्यहरूको बारेमा अख्तियारले के सोचिरहेको छ भन्ने अर्को प्रश्नमा प्रवक्ता कोइरालाले यस बारेमा अख्तियारले केही पनि सोची नसकेको जानकारी दिनुभयो।

राष्ट्रपतिसामू वार्षिक प्रतिवेदन प्रस्तुत गर्दा अख्तियारले अनुचित कार्यमा पनि छानविन गर्न पाउनुपर्ने गरी संविधानमा संशोधन गर्न माग गरिएको पनि पत्रकार सम्मेलन जानकारी दिइयो। वार्षिक प्रतिवेदन बुधबार अख्तियारका कायममुकायम प्रमुख आयुक्त दीप बस्न्यातले राष्ट्रपति विद्या भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो।

आयोगको प्रतिवेदनमा आर्थिक वर्ष २०७२⁄७३ मा आयोगमा २४ हजार ६ सय ९१ उजुरी दर्ता भएको जनाइएको छ। सोही वर्ष १० हजार ६ सय ६ उजुरी तामेलीमा राखिएको पनि उल्लेख गरिएको छ।

आर्थिक वर्ष २०७२⁄७३ मा ३ सय १० जना व्यक्तिलाई प्रतिवादी बनाइ एक सय ४४ थान मुद्दा दायर गरिएको, विशेष अदालतबाट २ सय ८२ थान मुद्दामा फैसला भएको र त्यसमध्ये ६० प्रतिशतमा सफलता पाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सोही आर्थिक वर्षका लागि सरकारबाट आयोगलाई १ अर्ब २ करोड ७ लाख ३५ हजार १ सय १२ रुपियाँ बजेट प्राप्त भएको पनि जनाइएको छ। प्रतिवेदन हस्तान्तरण कार्यक्रममा कार्यवहाक प्रमुख आयुक्त बस्न्यातले परिवर्तित सन्दर्भ र परिस्थितिलाई मध्यनजर राखी आयोगले कार्यदेश तय गरी सोहीअनुरूप गतिविधिहरू निर्देशित गर्ने प्रयास भएको राष्ट्रपति भण्डारीसमक्ष बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्