अप्रेसनपछि नितुको अवस्था गम्भीर

0
Shares

कुमार श्रेष्ठ, बाँके
भेरी अञ्चल अस्पताल, नेपालगन्जका एक डाक्टरको लापरबाहीले सल्यानकी नितु सुनार मृत्युको मुखमा पुगेकी छन्।

अस्पतालका डा. हेमा छन्त्यालले अप्रेसन गरेर सुत्केरी गराउदाँ भएको ‘गल्ती’ ले नितुको अवस्था गम्भीर भएको आफन्तले जनाएका छन्। भारतको लखनउस्थित सामरा अस्पतालमा उपचार भइरहेकी नितुको भेरीमा अप्रेसनको क्रममा नसा काटिएको त्यहाँका डाक्टरले बताएको बुवा पहलमान सुनारले बताउनुभयो।

पुसको २० गते नितुको भेरीमा अप्रेसन भएको थियो। त्यही दिनदेखि नै पेट दुखेको बताएकी नितुको २७ गते एक्कासि पेट फुल्लिएको थियो। २८ गते पुनः अस्पतालमा ल्याएर टाँका खोलेर जनरल वार्डमा तीन दिन राख्दा बिरामीको अवस्था झन गम्भीर भएको थियो। माघ २ गते आईसीयुमा राखेर भेरीका डाक्टरले अन्यत्र लैजान घरपरिवारलाई दबाब दिएका थिए।

‘यहाँ बिरामी बाँच्न गाह्रो हुन्छ, अन्यत्र लैजानुस् भनेपछि हामीले लखनउ लग्यौं, बुवा पहलमानले भन्नुभयो– ‘लखनउ अस्पतालका डाक्टरले पनि कागज गरेर मात्रै अप्रेसन गरे।’ सामराका डाक्टरले बिरामीलाई हेर्ने बित्तिकै बाँच्ने आशा पाँच प्रतिशत रहेको बताएका थिए।

बिरामीको अवस्था अहिले केही सुधार भएको छ। दिसा–पिसाब बाहिरैबाट गराइएको छ। आफन्तीले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै भेरी अञ्चल अस्पतालका डाक्टरको लापरबाहीका कारण बिरामीको अवस्था जटिल भएर लखनउ उपचार गराउन लगिएकाले त्यसमा लागेको खर्च व्यहोर्नुपर्ने बताएका छन्। ‘अहिलेसम्म चार लाख ४५ हजार ६ सय रुपियाँ खर्च भइसकेको छ, अझै मेजर अप्रेसन गर्न बाँकी नै रहेको छ, बुवा पहलमानले भन्नुभयो,– ‘हामीलाई केही चाहिँदैन, भेरी अञ्चल अस्पतालले लागेको खर्च व्यहोर्नुपर्छ।’

अस्पताल प्रशासनले शुरुआती दिनमा आफूहरूबाट गल्ती भएको स्वीकार गरेर सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको पहलमानले बताउनुभयो। ‘हिजो लखनउको बिल भरपाई बुझाउन जाँदा त माथि पठाउनुपर्छ भनेर आलटाल गरे –पहलमानले भन्नुभयो– ‘हामीलाई धेरै कुरा थाहा छैन। भेरीले हाम्रो खर्च ब्यहोर्नुपर्छ।’

अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दले अप्रेसनपछि बिरामी डिस्चार्ज भएर गएको र ७⁄८ दिनपछि फेरि आएकाले डाक्टरको कमजोरी नदेखिने बताउनुभयो। उहाँले केही सहयोगको अपेक्षा गरेको भए निवेदन दिन र त्यसलाई आफूले परिवार नियोजन महाशाखामा पठाइदिने आश्वासन दिनुभयो। बिरामीका बुवा पहलमानले अप्रेसनपछि अस्पतालले नजिकै भए पनि लैजान र केही भएमा ल्याउन भनेकाले नेपालगन्ज–१३ मा रहेको आफन्तको डेरामा बिरामीलाई लगेको बताउनुभयो। उहाँले अप्रेसन गरेकै दिन बिरामीले पेट दुखेको बताइरहदाँ पनि अस्पतालले घर लैजान लगाएको आरोप लगाउनुभयो।

भेरी अञ्चल अस्पतालमा घरबाट कुराकानी गर्दै आएका गर्भवतीको पनि सुत्केरीको क्रममा मृत्यु भएका धेरै तथ्यांक छन्।