भक्तपुरमा प्रहरी सक्रियता बढ्दै



पुष्कर बुढाथोकी, भक्तपुर
महानगरीय प्रहरी परिसर भक्तपुरले भारतमा नेपाली युवती लैजाँदै बेच्ने पर्साको वीरगन्ज उपमहानगरपालिका छपकैयाका ३३ वर्षे बलराम महतोलाई पक्राउ गरेको छ।

माघ १४ गते वीरगन्जबाट पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो। परिसरमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा परिसरकी प्रमुख एवम् प्रहरी उपरीक्षक किरण राणाले नेपाली महिलालाई सीमा पार गराएर भारत पुर्याएबापत २ हजारदेखि ८ हजार रुपयाँसम्म भारतीय रकम लिने गरेको अनुसन्धानमा खुलेको बताउनुभयो।

कार्यक्रममा परिसरका प्रवक्ता दिलबहादुर सुवेदीले भक्तपुर अदालतबाट कैद र जरिवाना तोकी फरार रहेका ७ जनालाई पक्राउ गरी अदालतलाई बुझाएको बताउनुभयो। त्यसै गरी भक्तपुर नगरपालिका–४ कमलविनायक मुलढोका बस्ने सलिम मगरलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाएको बताउनुभयो।

मगरले गएको साउन ९ गते काठमाडौं गुर्जुधारा बस्ने वर्षे २७ का नवराज सुनारलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरी उनको साथमा रहेको २ लाख ५० हजार रुपियाँ, मोबाइल र अन्य सामग्री लुटपाट गरेको खुल्न आएको प्रहरीले जनाएको छ।प्रहरीले अवैध रूपमा निकासी गरी बिक्रीका लागि लाँदै गरेको ६ ट्रिपर बालुवासहित ट्रिपरलाई नियन्त्रण लिई एक लाख ३८ हजार रुपियाँ जरिवाना असुल गरेको जनाएको छ।

त्यसै गरी सवारी नियम उल्लंघन गर्ने ३ हजार सात सय ४३ वटा गाडीलाई कारबाही गरिएको र ५७ लाख ७८ हजार रुपियाँ राजस्व असुली गरेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्