ललितपुर प्रहरी प्रमुखमा राई



सुनिल महर्जन, ललितपुर
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीको बिदाइसँगै बुधबार प्रहरी वरिष्ठ उपरीक्षक ठूले राईले प्रहरी परिसर ललितपुरको प्रमुखका जिम्मेवारी सम्हाल्नुभएको छ।

प्रहरी प्रधान कार्यालयको विपद् व्यवस्थापन महाशाखाबाट सरुवा भएर आउनुभएका एसएसपी राईको उपस्थितिमा आफूले परिसर प्रमुखका रूपमा १९ महिना १७ दिन काम गरेको आफ्नो अनुभव सुनाउनुहुँदै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जिम्मेवारी हस्तान्तरण गर्नुभयो।

सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जिल्लाको समग्र सुरक्षास्थिति, सुरक्षा चुनौती, जिल्लाको भौगोलिक, सांस्कृतिक विशेषताबारे नयाँ प्रमुख राईलाई जानकारी दिनुभयो।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारी अपराध अनुसन्धान, ‘प्रहरी मेरो साथी’ लगायत कार्यक्रमलाई सफलता बनाउन सबैको साथ र सहयोग रहेको भन्दै त्यसले अबका दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले शान्ति सुरक्षा र अपराधिक गतिविधि काठमाडौंको तुलनामा निकै न्यून रहेको उल्लेख गर्नुहुँदै आफ्नो कार्यकालमा प्रहरी अपराध हुनु अगावै त्यसलाई न्यूनीकरण गर्न प्रयास गरेको बताउनुभयो। महानगरीय प्रहरी परिसर ललितपुरबाट सरुवा हुने र सरुवा भएर आउने प्रहरी प्रमुखबीच यस किसिमले भेटघाटमा गरिएको सम्भव पहिलोपटक रहेको परिसरले जनाएको छ। सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक राईले आफ्ना समकक्षी अधिकारीले जिल्लामा कायम राखेको प्रभावलाई निरन्तरता दिने बताउनुहुँदै शान्ति सुरक्षा र अपराध न्यूनीकरण गर्ने नेपाल प्रहरीको लक्ष्य प्राप्तिका लागि कटिबद्ध भएर लाग्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्