छुरा प्रहारबाट घाइते भएका बानियाको मृत्यु



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्ज कारागारमा पुस ९ गते साँझ छुरा प्रहारबाट घाइते भएका राजन बानियाको उपचारका क्रममा ज्यान गएको छ।

छुरा प्रहारबाट गर्धनमा गहिरो घाउ लागेर नसाहरू काटिँदा सिकिस्त भएका उनको उपचारका क्रममा मृत्यु भएको हो। मृतकका बाबु रामधारीदास बनियाले भने उपचार नपाएकाले आफ्नो छोराको ज्यान गएको आरोप लगाएका छन्। पर्सा प्रहरीका अनुसार कारागारभित्र बन्द कैदीहरूबीचको झगडामा एउटा कैदीले अर्कोलाई छुरा हानेको घटना कैदीहरूले क्रिसमसको रमझम मनाइरहेको बेला भएको थियो। पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहका अनुसार सुनसरीको झुम्का कारागारबाट ३ महिनाअघि सरुवा भएर आएका अपहरण, धम्की र चन्दा असुली मुद्दामा सजाय काटिरहेका रौतहट घर भएका पनिलाल पण्डितले बनिया उपर तरकारी काट्ने छुरा प्रहार गरेका थिए।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले अप्रेसन गर्न सल्लाहसहित रिफर गरेको थियो। काठमाडौं लगेर घाइते बनियालाई केन्द्रीय कारागार मातहतको अस्पतालमा पाँच दिन राख्दा उनको अवस्था गम्भीर भएपछि मात्र वीर अस्पताल पुर्याइइएको थियो।

प्रतिक्रिया दिनुहोस्