साउदी जेलबाट छुटेका ११ नेपालीद्वारा प्रमसँग माग



काठमाडौं, (नेस)
विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेर राहत दिन माग गरेका छन्।

सात वर्षअघि भारतीय नागरिकको हत्या अभियोगमा साउदी जेलमा परेका एघार नेपालीहरूले प्रधानमन्त्रीसँग नेपाल ल्याउने प्रक्रियामा गरेको सहयोगका लागि धन्यवाद दिँदै सात वर्ष लामो जेल जीवनले पारिवारिक जीवन अस्तव्यस्त भएकाले सहयोगका लागि अनुरोध गरेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा पीडित भीमप्रसाद चिमरियाले सात वर्षअघि साउदीमा रहको अवस्थामा भारतीय नागरिकको हत्या अभियोगमा आफूहरूलाई जेल हाले पनि अनुसन्धानका क्रममा आफूहरू निर्दोष सावित भएको बताउनुभयो।

‘दूतावासका कर्मचारीले बेलैमा पहल गरेको भए हामी एक⁄दुई महिनामै छुट्न सक्थ्यौं। तर, कर्मचारीको लापरबाहीका कारण बिनाकारण सात वर्ष जेल बस्नुपर्यो’, उहाँले भन्नुभयो– ‘जेलबाट छुटेपछि नेपाल ल्याउन प्रधानमन्त्री कार्यालयले गरेको सहयोगका लागि आभारी छौं। तर, अब सरकारले हाम्रो परिवारको जीवन रक्षाका लागि भए पनि केही राहत उपलब्ध गराउने आशा गरेका छौं।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले कुरा सुन्दा निकै दुःख लागेको बताउनुहुँदै विदेशमा यस्ता पीडा भोग्ने थुप्रै नेपालीहरू रहेको बताउनुभयो। ‘विदेशी जेलमा रहेका नेपालीहरूको तथ्याङ्क संकलन, सीड मनीको व्यवस्था, कम्पनी टाट पल्टिएर बेरोजगार भएका नेपालीहरूको उद्धार, विदेशमा काम गर्ने नेपालीहरूका लागि म्यादी जीवन बीमाजस्ता व्यवस्था त्यसैका लागि गरिएको हो।’ –उहाँले भन्नुभयो। राहत उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउनुहुँदै प्रचण्डले निर्दोष भएका कारण साउदी सरकारसँग पनि कूटनीतिक पहल गरेर राहत उपलब्ध गराउने कोसिस हुने विश्वास दिलाउनुभयो। ‘कर्मचारीको लापरबाहीका कारण तपाईंहरूले दुःख पाएको भए त्यसबारे पनि समीक्षा गरिन्छ।’ –उहाँले भन्नुभयो।

सन् २०१० फेब्रुअरीमा साउदीको जेद्दा बराइमान जेलमा परेका नवलपरासीका कृष्णबहादुर दमार्इं, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहुँका केशवबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका वीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमरियाले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। भेटमा क्रममा पीडितहरूले साउदी जेलभित्रै मृत्यु भएका झापा मधुवनका उमेश श्रेष्ठको मृत शरीर नेपाल ल्याउने व्यवस्था गर्न र परिवारलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।

कामका लागि साउदी गएका उनीहरूमाथि भारतीय नागरिकको हत्या अभियोग लगाइएको थियो। करिब साढे पाँच वर्षपछि अदालतले निर्दोष सावित गरेपछि प्रधानमन्त्री कार्यालय र नेपाली दूतावासको सहयोगमा डेढ महिनाअघि उनीहरू नेपाल फर्किएका हुन्।

प्रतिक्रिया दिनुहोस्