मिस युनिभर्सको ताज फ्रान्सेली सुन्दरीलाई



यस वर्षको विश्व सुन्दरी अर्थात् ६५औं मिस युनिभर्स २०१७ को ताज फ्रान्सेली सुन्दरी आइरिस मित्तेनायरेले चुमेकी छिन्। सोमबार फिलिपिन्सको राजधानी मनिलामा आयोजित प्रतियोगितामा हाइटीकी २५ वर्षीय सुन्दरी रेक्वल पोलिसियर र कोलम्बियाकी २३ वर्षीय सुन्दरी एन्ड्रिया तोवरलाई पछाडि पार्दै २३ वर्षीया उनले उक्त ताज चुमेकी हुन्। हाइटीकी सुन्दरी रेक्वल फस्ट रनर्सअप र कोलम्बियाकी एन्ड्रिया सेकेन्ड रनर्सअप बन्न सफल भएका छन्।

प्रतियोगिताअन्तर्गत एक प्रश्नको जवाफमा आफू यस प्रतियोगितामा प्रथम द्वितीय या तृतीय जे भए पनि खुसी नै हुने बताएकी उनले अन्ततः मिस युनिभर्सको उपाधि चुम्न सफल भइन्। अन्तिम राउन्डमा तीनैजना प्रतिस्पर्धीलाई तपाईंले जीवनमा बेहोर्नुपरेको हारबाट के सिक्नुभयो भनेर सोधिएको थियो। जस्को जवाफ दिँदै आइरिसले आफूले जीवनमा केही हारको सामना गर्नुपरेको खुलाएकी थिइन्। ‘मलाई लाग्छ कि जिन्दगीको पहिलो हार त्यही थियो जुन बेला मेरो नाम कास्टिङ लिस्टमा सामेल गरिएको थिएन। तर, पछिल्लो दिनमा थाहा भयो कि मेरो नाम एक नयाँ किताबका लागि सेलेक्ट गरिएको हो। त्यस कारण मलाई यस्तो लाग्छ कि जब मानिसले हार्छ तब त्यसबाट केही नयाँ कुरा सिक्छ’ –उनको जवाफ थियो।

राजधानी मनिलाको एसिया एरिया मलमा आयोजित प्रतियोगितामा विश्वका ८६ देशका सुन्दरीहरुले सहभागिता जनाएका थिए। दन्त चिकित्सा विषयमा फ्रान्समा अध्ययनरत विद्यार्थी तथा मोडल उनी मिस युनिभर्सको ताज जित्ने क्रिस्टियन मार्लेपछि दोस्रो फ्रान्सेली हुन् भने ६३ वर्षपछि फ्रान्सले मिस युनिभर्सको ताज जितेको हो। उनलाई मिस युनिभर्स २०१५ पिया बुर्टजबाकले ताज पहिराएकी थिइन्। खाना बनाउन सिपालु उनी स्काई ड्राइभिङ, बन्जीजम्प र ह्याङग्लाइडिङ खेल्न मन पराउँछिन्। उनी अमेरिकी गायिका तथा नायिका वियोन्सको फ्यान हुन्।

प्रतिक्रिया दिनुहोस्