स्वास्थ्य संस्थामा आधारभूत सामग्री अभावः सर्वेक्षण



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका धेरैजसो स्वास्थ्य संस्थाहरूमा आधारभूत सामग्री, आपूर्ति र तालिम प्राप्त सेवा प्रदायकहरूको कमी भएको तथ्य नेपाल स्वास्थ्य संस्था सर्वेक्षण २०१५ को रिपोर्टमा उल्लेख गरिएको छ।
स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मूल्यांकन महाशाखाले विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरी गरेको सर्वेक्षण रिपोर्ट सोमबार राजधानीमा एक कार्यक्रमको अयोजना गरी सार्वजनिक गरिएको थियो।

सन् २०१५ मा गरिएको सर्वेमा नेपालका ९ सय ६३ वटा स्वास्थ्य संस्था र ४ हजारभन्दा बढी स्वास्थ्य सेवा प्रदायकहरूको अन्तर्वार्ता लिई तयार पारिएको उक्त रिपोर्टमा नेपालको स्वास्थ्य संस्था, औषधी, जनशक्तिको दक्षता, परिवार नियोजन सेवा, गर्भवती सेवा, भौतिक पूर्वाधार, सरसफाइ, खानेपानी, शौचालयलगायतका विषयमा जोड दिइएको छ।

उक्त रिपोर्ट स्वास्थ्य मन्त्रालयको मूल्यांकन तथा अनुगमन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमन सिंहले सार्वजनिक गर्नुहुँदै स्वास्थ्य मन्त्रालय र स्वास्थ्य क्षेत्रका विकास साझेदारी संस्थाहरूबाट विगतमा गरिँदै आएका विभिन्न स्वास्थ्य संस्था सर्वेक्षणहरूलाई एकीकृत गरी समष्टिगतरूपमा समेटिएको बताउनुभयो। उहाँले २०७२ को भूकम्पमा क्षति पुगेका १४ जिल्लाहरूमा सेवाको समेत प्रतिनिधित्व सर्वेक्षण कार्यक्रमले गरेको बताउनुभयो।

सर्वेक्षणका लागि यूएसएआईडी, यूके डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलपमेन्ट र विश्व स्वास्थ्य संगठनले आर्थिक सहयोग उपलब्ध गराएको थियो भने प्राविधिक रूपमा विश्वव्यापी जनसांख्यिक स्वास्थ्य सर्वेक्षण कार्यक्रममार्फत आईसीएफले गरेको थियो। त्यसै गरी प्राविधिक सहयोग नेपाल हेल्थ सेक्टर सपोर्ट प्रोग्रामबाट पनि भएको रिपोर्टको सम्पादनको जिम्मेवारी लिएको न्यू एरा नामक संस्थाका प्रतिनिधि योगेन्द्र प्रसाईंले जानकारी गराउनुभयो।

यो सर्वे नेपालमा पहिलोपटक भएको प्रसाईंले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्