सिंहको उपचार गराइदिने प्रमको आश्वासन



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा–मसालका महामन्त्री मोहनविक्रम सिंह स्वास्थ्य अवस्थामा खराबी आएपछि अस्पतालमा भर्ना हुनुभएको छ। लगातार ज्वरो आएपछि उहाँलाई ग्रान्डी अस्पताल टोखामा भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ।

उपचारका क्रममा सिंहलाई फोक्सोमा पानी जमेको, अल्सरलगायतका समस्या देखिएको चिकित्सकहरूले जनाएका छन्। यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना गुरु महामन्त्री सिंहलाई आइतबार बिहानै भेट्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले सिंहको स्वास्थ्य लाभको कामना गर्नुभयो।
साथै उपचारका लागि लाग्ने खर्च सरकारको तर्फबाट ब्यहोरिने आश्वासन दिनुभएको थियो। सिंह ८२ वर्ष पुगिसक्नुभएको छ। उहाँलाई आइतबार नै नेकपा–माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एमालेका उपाध्यक्ष बामदेव गौतमलगायतले अस्पतालमै पुगी भेट्नुभएको सिंहकी पत्नी तथा सांसद दुर्गा पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

लामो समयदेखि भूमिगत राजनीतिमा रहनुभएका कम्युनिस्ट आन्दोलनका अग्रज बामपन्थी नेता सिंहले ८१ वर्षको उमेरमा विदेश गएर देशको ढुकुटी रित्याउने पक्षमा आफू नभएको बताउनुभएको छ। उहाँको यो अभिव्यक्तिको सम्मान गर्दै प्रधानमन्त्री दाहालले लागेको खर्च सरकारले ब्यहोर्ने आश्वासन दिनुभएको बताइएको छ। नेता सिंहको उपचारमा संलग्न डा. विभेक शर्माका अनुसार सिंहको स्वास्थ्य अवस्था क्रमशः सुधारात्मक हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्