खुइलिँदै ऐतिहासिक शीलालेख



रोशन पराजुली, हेटौंडा । मकवानपुरको उत्तरी ऐतिहासिक क्षेत्र टिस्टुङ उपत्यकामा रहेको राजा अंशुवर्माको लिच्छवीकालिन शीलालेखहरु अलपत्र परेका छन् । उक्त शीलालेखहरु हिजोआज स्थानीयको हँसियामा धार लगाउने ढुंगामा परिणत भएको छ । धार लगाउँदा ती ऐतिहासिक वस्तु खुइलिसकेका छन् ।

टिस्टुङको उत्तर पश्चिम भटुवाल गाउँको कोलटार भनिने खेतको बीचमा स्थापित शीलालेख संरक्षण अभावमा किसानले जानीनजानी आफ्ना औजारमा धार लगाउन प्रयोग गर्दै आएका छन् । हसियाँ उद्याउन थालिएपछि ऐतिहासिक शीला अर्धनष्ट भइसकेको स्थानीय सुदर्शनसिंह ठकुरीले बताए । केही वर्ष अघिसम्म शीलालेखमा अंकित अक्षरहरु हाल मुस्किलले पढ्न र बुझ्न सकिन्छ ।

लिच्छवी राजा अंशुवर्माले स्थापना गर्न लगाएको शीलालेखमा ‘स्वस्ती नेपालेभ्य’ भन्ने शव्द उल्लेख गरिएको टिस्टुङ भेगको इतिहास अध्ययन गर्न काठमाडौंबाट आएका एकराम सिंह बताउ“छन् । उनका अनुसार उक्त शीलालेख ‘नेपाल’ शव्द उल्लेख भएको सम्भवतः पहिलो शीलालेख हो ।

उक्त क्षेत्रमा यस्ता दुईवटा शीलालेख सामुदायिक विद्यालयको कम्पाउण्डमा छन् भने एउता खेतको बीचमा छ । करिब २ फिट चौंडाई र ५ फिट लम्बाईका ती शीलालेखको अस्तित्व मेटिने खतरा छ ।

थहचोकको विद्यालयमा रहेका शीलालेखहरु केही सुरक्षित देखिए पनि खेतको बीचमा रहेको शीलालेख हराउने अवस्थामा रहेकोमा उनले दुःख व्यक्त गरे । दुई शीलालेख विद्यालयको कक्षाकोठामा जमिनमा गाडिएर रहेको अवस्थामा छ । उनले टिस्टुङ÷चित्लाङ भेगमा यस्ता धेरै ऐतिहासिक शीलालेख रहे पनि राज्यले संरक्षण गर्न नसकेको गुनासो गरे ।

लिच्छवीकालमा उक्त क्षेत्र धादिङहु“दै त्रिशुली भएर तिब्बत जोडिने ठाउँ थियो । मल्लकालमा हेटौंडा, भीमफेदीहुँदै बाटो बनेको थियो । नयाँ बाटो बनेपछि टिस्टुङ क्षेत्रको बाटोको प्रयोग केही घटेको स्थानीय बताउँछन् ।

टिस्टुङको पाल्चोकमा दुई र चित्लाङमा एक लिच्छवीकालिन शीलालेखहरु बेवारिस अवस्थामा छन् । अंशुवर्माको उक्त शीलालेखका आधारमा टिस्टुङ उपत्यका लिच्छवीकालमा महत्वपूर्ण भन्सार केन्द्र रहेको पुष्टि भएको सिंहले बताए ।
‘लिच्छवीकालमा त्यहाँबाट फलाम, चमर, ऊन, कस्तुरी र तामाका भाँडाको निकासी व्यापारमा कर लगाउने र नियन्त्रण गर्ने काम हुन्थ्यो,’ उनले भने ।

धेरैले यसको महत्व नबुझेकाले नष्ट हुनबाट जोगाउनेतर्फ ध्यान नदिएको स्थानीय समाजसेवी रामबाबुसिंह ठकुरी बताउँछन् । ‘माल पाएर चाल पाउन नसक्दा आफ्नो ठाउँको चर्चा हराएको छ,’ उनले भने । गाउँमा ठकुरीको वस्ती छ ।

भटुवाल क्षेत्रमा लिच्छवीकालमा पुरानो वस्ती रहेको र आगलागी वा अन्य कारणले वस्ती नष्ट भएर हालको संरचना निर्माण भएको हुनसक्ने बुढापाका बताउँछन् । तर, कसैले मतलब नगर्दा त्यहाँको पहिचान मेटिनसक्ने खतरा छ ।

१८ औं शताब्दीमा नेपाल एकीकरण हुनुअघि बाइसे र चौबीसे राज्यहुँदा मकवानपुरको टिस्टुङ सामरिक महत्वको स्थान थियो । नेवार समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा तराई झर्ने क्रममा काठमाडौंका राजा अंशुवर्मादेखि राज्य एकीकरणपछि शाहवंशका राजाहरु बास बस्ने गर्दथे । बदलिँदो परिवेशमा हाल तराई झर्ने अन्य बिकल्प तयार भएपछि उक्त क्षेत्र केही छायामा पर्दै आएको छ । राजाहरु बास बस्ने पुराना दरबार अहिले पनि ती क्षेत्रमा पाइन्छ ।

टिस्टुङको बज्रबाराही क्षेत्र पनि एक ऐतिहासिक लघुनगर हो । त्यहाँ पनि लिच्छवीकालका महत्वपूर्ण शीलालेखहरु अलपत्र छन् । पाल्चोकस्थित बज्रबाराही माविपरिसरमा रहेको नरेन्द्रदेवको शीलालेखमा पनि बेवारिस बन्दै गएको छ । यी महत्वपूर्ण चिज बस्तु संरक्षण गर्नतर्फ न स्थानीय समुदायले पहल गरेका छन्, न त सरकारी निकाय पुरातत्व विभागलगायतको ध्यान पुगेको छ ।

‘इतिहास बोल्ने यस्ता सम्पदा अलपत्र हुनु बिडम्बनाको कुरा हो,’ ठकुरीले लिच्छवीकालमा महत्वपूर्ण भन्सार केन्द्र रहेको भनिएको र लिच्छली राजा नरेन्द्रदेवले बस्ती बसालेको भनी इतिहासमा उल्लेखित स्थान अहिलेसम्म पनि पछि नै परेको बताए ।

त्यस उपत्यकामा पहिलो आदिवासी गोपालवंशका सन्तान गोपालीको बसोवास छ । उनीहरुको पृथक कला र सँस्कृति छ । मल्लकालबाट सुरु भएका विभिन्न नाच तथा जात्राहरु चलिरहेका छन् । मठमन्दिरहरु संरक्षणका लागि हजारौं वर्ष पहिलेबाट गुठीको व्यवस्था गरिएको छ । यी सबै कुराहरु हुँदा पनि आफ्नो ठाँउको बारेमा गर्व गर्न स्थानीयले सकिरहेका छैनन् ।

२०३७ सालतिर त्रिभुवन विश्वविद्यालय केन्द्रीय इतिहास विभागका प्राध्यापक धनवज्र बज्राचार्य र हेमन्त राणा इतिहासका विद्यार्थी लिएर अध्ययनका लागि उक्त ठाउँ पुगेका थिए । उनीहरुले महिनौं ऐतिहासिक तथा पुरातात्विक सम्पदाको अध्ययन गरेर केही तथ्य सार्वजनिक गरेका थिए । ‘टिस्टुङ/चित्लाङ भेगको इतिहास’ नामक पुस्तक उनीहरुले प्रकाशन गरेका थिए ।

पाँच वर्ष अवधिमा देशका प्राचीन तथा पुरातात्विक महत्वका चार दर्जन बहुमूल्य मूर्ति तथा शीलालेख चोरी भएका छन् । २०६८ सालयताको अवधिमा देशभरका मठ मन्दिर तथा गुम्बा बिहारबाट ४६ वटा मूर्तिसहित प्राचीन शीलालेख हराएको हो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार चोरीमा संलग्न कतिपय अभियुक्त पक्राउ परे पनि हराएका मूर्ति अझै भेटिएका छैनन् । सबभन्दा बढी उपत्यका तथा आसपासका क्षेत्रबाट प्राचीन सम्पत्ति चोरी हुने गरेको पाइएको छ ।

चित्लाङको शीलालेख पनि चोरी हुने हो कि भन्ने चिन्ता स्थानीयलाई छ । प्रहरी तथा पुरातत्व विभागका अधिकारीहरु नेपाल घुम्न आउने बहानामा विदेशीले आपराधिक तथा संगठित गिरोहमार्फत् मूर्ति किन्ने गरेको बताउ“छन् ।

प्रतिक्रिया दिनुहोस्