नवदुर्गा नाचः पीडामा देवगण



विपना मुसिख्वाल, भक्तपुर
नवदुर्गा नाचको देवगणको पहिरन र कलालाई हेर्दा कुनै साक्षात्कार भगवानभन्दा केही फरक देखिँदैन। उनीहरूको पहिरन हेर्दा कुनै पीडा नभएको भगवानको रूपमा देख्न सकिन्छ। तर वास्तविकताको गहिराइमा पुगेर हेर्दा उनीहरूभित्र पनि आफ्नो छुटै पीडा लुकेको छ।

नवदुर्गा नाचमा देवगणको भूमिका निभाउँदा शारीरिक पीडा तथा आर्थिक समस्या भोग्नुपरेको लक्ष्मीप्रसाद वनमालाले बताए। उनले यस वर्ष महाकाली देवगणको रूपमा नाचेका छन्। ‘नवदुर्गा नाचका लागि हिँड्दा पढ्न पाइएन। अहिले आफ््नो नामसमेत लेख्न आउँदैन। नाचले गर्दा जागिरसमेत खान सकिएन। भएको केही खेतीपातीसमेत ज्यालामा गर्न दिन्छु। जसको ज्याला खेतबाट आएको अन्न बेचेर दिन्छु।’ –उनी भन्छन्, ‘म १५ वर्ष भएदेखि महाकालीको देवगणको रूपमा भूमिका निभाए। अहिलेसहित गरेर ५ पटक यस नाचमा सहभागी भएँ। यो नाच भक्तपुरको सूर्यमढीबाट प्रत्येक वर्ष माघ २ गतेदेखि शुरू भई साउनको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्दछ। साँगा, श्रीखण्डपुर, बनेपा काठमाडौंलगायत भक्तपुरका २१ वटा स्थानमा यो नाच प्रदर्शनी गरिन्छ। नाच हुने स्थानमा नाचको अघिल्लो दिनमै पैदल यात्रा गरी बोकेर पुर्याइन्छ।

नवदुर्गा नाचमा लाग्दा घर, परिवारलाई समय दिन नसकेको नाचका नाइके बुद्धिबहादुर वनमालाले बताए। ‘हामीमा शारीरिक पीडा त छँदै छ। नाच चलाउका लागि आवश्यक आर्थिक समस्यासमेत रहेको छ’, उनी भन्छन्, ‘सरकारले दैनिक रूपमा आधा मानो चामल, १९ रुपियाँ दक्षिणा, घिउ र मह दिने गथ्र्याे। तर विगत लामो समयदेखि सो लिन गएको छैन।’ नवदुर्गा नाचमा मुकुण्डो लगाएका र नलगाएकासहित १९ जना देवगण हुन्छन्। एउटा परिवारमा भएका सदस्यहरूको भूमिका नवदुर्गा नाचमार्फत नाटकका रूपमा देखाइन्छ। ‘जात्राको क्रममा विभिन्न रोग लाग्छ। साथै घाउ, चोट पनि। जसका लागि कुनै निकायबाट पनि उपचारको व्यवस्था गरेको छैन’ नवदुर्गा देवगणका अध्यक्ष मङ्गलाल वनमालाले भने।

उनी भन्छन्– ‘नवदुर्गा नाच नेपालकै मौलिक संस्कृति हो। तर, यसको आर्थिक स्रोत नहुँदा जनतासँग पैसा मागेर चलाउनुपर्ने बाध्यता छ। नाचके लागि हामी आफैंले व्यक्तिगत रूपमा प्रत्येक वर्ष ४० हजार खर्च राख्नुपरेको छ।’ नवदुर्गा नाचको देवगणको भूमिका निभाउँदा विद्यालय जान नपाएको गुनासो पोख्छन् दिपेश वनमाला। उनी भन्छन्,‘म सरस्वती विद्यागृहमा पढ्छु। नाच चलेको समयमा विद्यालय जान पाउँदिन। नाच रातको समयमा पनि हुने भएकाले जाडो हुन्छ। देवगण पहिरन लगाएपछि जुत्ता लगाउन नपाइने भएकाले गर्दा खालि खुट्टा नाच्नुपर्छ। शारीरिक पीडा हुन्छ।’

नवदुर्गा नाच चलाउनका लागि प्रमुख रूपमा आर्थिक समस्या रहेको बताउँछन् ।नवदुर्गा नाचका कान्छो नाइके हरिकृष्ण वनमाला। उनी भन्छन्– ‘नवदुर्गा नाचको व्यवस्थाका लागि राजा, तत्कालीन राष्ट्रपति रामवरण यादव, वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई समय–समयमा पत्राचार गरिसकेको छ। तर सरकारबाट नाच व्यवस्थापनलाई नदिइ मन्दिर मर्मतका लागि दिने गरेको छ। नवदुर्गाको नाममा भएको २ सय रोपनी जग्गा व्यक्तिको नाम भई बाँकी ३७ रोपनी जग्गा मात्र मन्दिरको नाममा बाँकी रहेको छ।
(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्