प्रहरी अधिकृत र सरकारी वकिलहरूको सम्मेलन भोलिदेखि



नेपाल समाचारपत्र
काठमाडौं
प्रहरी अधिकृत र सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलन भोलि शुक्रबारदेखि राजधानीमा शुरू हुने भएको छ। सो सम्मेलनका बारेमा जानकारी बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले मुलुकमा कानुनी शासन पालना भएमा विकासको गति लिन समय नलाग्ने उल्लेख गर्नुभयो।

महान्यायाधिवक्ता श्रेष्ठले मुलुकमा अनधिकृत रूपमा सुन ल्याउने मुहानसम्ममा नै पुग्ने प्रयास भइरहेको जानकारी दिनुभयो। उहा“ले पक्राउ पर्नासाथ कुनै पनि व्यक्तिलाई दोषी नै हो भन्नेजस्तो गरेर सो व्यक्तिलाई सार्वजनिक नगर्न पनि प्रहरीसमक्ष आग्रह गर्नुभयो।

सो अवसरमा प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले महान्यायाधिवक्ताको कार्यालय र आफ्नो कार्यालयबीच कहिलेकाही असमझदारी हुने गरेको स्वीकार गर्नुहु“दै सम्मेलनपश्चात त्यस्तो कटुता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। प्रहरी प्रमुख अर्यालले सरकारी वकिल र प्रहरीले गर्ने संयुक्त सम्मेलनले मुलुकमा कानुनी शासन र कानुनी राज्यको स्थापना हुनेमा आफू विश्वस्त रहेको पनि जनाउनुभयो।

सो सम्मेलनमा सरकारवादी मुद्दामा प्रहरीले सरकारी वकिलबाट राख्ने अपेक्षा, अनुसन्धानकर्ता र अभियोजन कर्ताकाबीचमा समन्वय र सहकार्य, प्रस्तावित अपराध संहिता र फौजदारी कार्यविधि संहिताको कार्यान्वयनका लागि अनुसन्धान कर्ता र अभियोजनकर्ताले गर्नुपर्ने पूर्वतयारीका बारेमा छलफल हुने बताइएको छ।

यसै गरी अपराध तथा साक्षीका सहायता र संरक्षणको वर्तमान अवस्था र सुधारका क्षेत्रहरू, अपराध अनुसन्धानको वर्तमान अवस्था र भावी कार्यदिशा, संगठित, वित्तीय तथा प्रविधिजन्य अपराध नियन्त्रण, अनुसन्धानकर्ताले अभियोजनकर्तासँग राखेका अपेक्षा र सुधारका क्षेत्रहरू र महिला, बालबालिका, जेष्ठ नागरिकसम्बन्धित मुद्दामा अपराध अनुसन्धानलगायतका विषयमा पनि सम्मेलनमा छलफल हुने उल्लेख गरिएको छ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सम्मेलन गर्नुको उद्देश्य अनुसन्धान र अभियोजनको विद्यमान स्थितिको समीक्षा गर्नु, त्यसमा देखिएको समस्याहरू पहिल्याउनु, अनुसन्धान र अभियोनकर्ताबीच समन्वयको विकास गर्नु, दुवै पक्षबीच साझा धारणा बनाउनु र अपराध अनुसन्धान र अभियोजनसम्बन्धि नया“ कानुनी व्यवस्था र अभ्यासका बारेमा जानकारी गराइ एकरूपता कायम गर्नुरहेको छ।

प्रतिक्रिया दिनुहोस्