ट्रान्सपरेन्सीको प्रतिवेदनः नेपालमा भ्रष्टाचार उस्तै



नेपाल समाचारपत्र
काठमाडौं
विगतका वर्षहरूमा जस्तै सन् २०१६ मा पनि नेपालमा भ्रष्टाचार ब्याप्त भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ। नेपालले बितेको वर्ष भ्रष्टाचारमा २९ अंक प्राप्त गरेको छ।

१ सय अंक प्राप्त गरेमा सो मुलुक अति स्वच्छ र शून्य अंकले उक्त मुुलुकमा अति भ्रष्टाचार भएको जनाउ“छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले ५० अंक नकाटिकन भ्रष्टाचार नियन्त्रणमा छ भन्ने अवस्था नरहने उल्लेख गर्नुभयो।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नेपालको भ्रष्टाचारको स्थितिका बारेमा जानकारी दिन बुधबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सो सम्मेलनमा भ्रष्टाचार विश्वभर नै प्रमुख समस्याको रूपमा देखा परेको उल्लेख गरिएको थियो। ट्रान्सपरेन्सीले विश्वभर नै सम्बन्धित देशमा भ्रष्टाचारको बारेमा तयार भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। नेपालमा भएको सार्वजनिक कार्यक्रममा ट्रान्सपरेन्सीले १ सय ७६ मुलुकमा भ्रष्टाचारको बारेमा अनुसन्धान गरिएको उल्लेख गरिएको थियो।

ती मुलुकमध्ये १ सयभन्दा बढी मुलुकले ५० भन्दा कम अंक प्राप्त गरेका सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा उल्लेख गरिएको छ– ‘अघिल्लो वर्ष झैं यस वर्ष पनि एक सयभन्दा बढी मुलुकले भ्रष्टाचार अवधारणा सूचाङ्क (सीपीआई) मा ५० अंकभन्दा कम अंक प्राप्त गरेकाले भ्रष्टाचार विश्वव्यापी रहेको र समस्यामा सुधार आएको देखिएको छैन।’
भ्रष्टाचार हुने देशमध्ये नेपाल एक सय ७६ मध्ये एक सय ३१ स्थानमा रहेको देखाइएको छ। सन् २०१५ मा १ सय ३०, सन् २०१४ मा १ सय २६, सन् २०१३ मा एक सय १६ र सन् २०१२ मा १ सय ३९ स्थानमा नेपाल रहेको थियो। सन् २०१६ मा डेनमार्क र न्युजिल्यान्डले कूल एक सयमा ९० अंक प्राप्त गरी विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा दरिएका छन्। सोमालियाले १० अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा गनिएको छ।

दक्षिण एसियाली मुलुकहरूमा भुटानले सबैभन्दा बढी ६५ अंक प्राप्त गरी भ्रष्टाचार कम भएको मुलुकमा आफ्नो नाम लेखाउन सफल भएको छ। दक्षिण एसियाली देशमा अफ्गानिस्तानले जम्मा १५ अंक प्राप्त गरी भ्रष्टाचार बढी हुने गरेको मुलुक भनेर चिनिएको छ।

यसै गरी भारतले ४०, मालदिभ्स र श्रीलङ्काले ३६, पाकिस्तानले ३२, बङ्गलादेशले २६, चीनले ४० अंक प्राप्त गरी भ्रष्टाचारको सूचाङ्कमा दरिएका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष अर्यालले विधायकहरू हाजिर गरेर छलफलमा भाग नलिई आफ्नो व्यक्तिगत काममा जाने गरेको पनि एक प्रकारले भ्रष्टाचार हुने गरेको उल्लेख गर्नुभयो।

अध्यक्ष अर्यालले प्रमुख जिल्ला अधिकारीलाई बगरेले मासु पठाउने गरेको उदाहरण पनि हामीसँग भएको उल्लेख गर्दै यसलाई स्वीकार गर्नुहुन्छ कि हुँदैन भन्ने बारेमा बहस भए पनि यो नैतिकतामा भर पर्ने विषय भएको जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्