विमानस्थलको काम छोडेर हड्तालमा



नेपाल समाचारपत्र
काठमाडौं
सरकारले अत्यावश्यक सेवामा हड्ताल गर्न नहुने कानुन विपरीत देशकै सबैभन्दा संवेदनशील क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का कर्मचारी हड्तालमा उत्रिएका छन्।

बढुवा रोकिएको भन्दै एटिसीमा कार्यरत १२ जना कर्मचारी विमानस्थलको काम छाडेर बबरमहलमा रहेको नागरिक उड्ययन प्राधिकरणको कार्यालयमा धर्ना दिएका थिए। अत्यावश्यक सेवा संचालन ऐन २०१४ अनुसार विमानस्थल, अस्पताल, खानेपानी, पेट्रोलियम पदार्थ लगायतका क्षेत्र अत्यावश्यक सेवा भित्र पर्छन्। अत्यावश्यक सेवामा हड्ताल गरेमा तत्काल प्रक्राउ गरेर जरीवाना सहित कारवाही गर्ने कानुनी प्रावधान छ।

विमानस्थल स्रोतका अनुसार काम छाडेर कर्मचारी हड्तालमा उत्रिदाँ अन्तराष्ट्रिय विमानस्थलको काममा बाधा परेको छ। कर्मचारीले गत कात्तिकमा हुनुपर्ने फाइल बढुवा नभएको भन्दै धर्नामा बसेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो।

एटिसीका कर्मचारीसँगै प्रशासन, लेखा र इन्जिनियरहरू पनि हड्तालमा उत्रिएका छन्। प्रवक्ता ठाकुरका अनुसार निर्वाचनको घोषणा भएमा सरुवा र बढुवा नहुने भएकोले हड्ताल मार्फत दबाब दिएका हुन्। प्रवक्ता ठाकुर स्वयं पनि हड्तालको समर्थनमा रहेको बुझिएको छ।

प्राधिकरणका कर्मचारीका लागि लोकसेवा आयोग र प्राधिकरणबीच ’एस्योरेन्स लेटर’ चाहिने तर प्राधिकरणले अहिलेसम्म सो चिठी लोकसेवालाई नदिएर कर्मचारीको वृद्धि विकास रोकेको उनीहरूले आरोप लगाएका छन्।

प्राधिकरणले कर्मचारी सेवा शर्त नियमावलीमा स्पष्ट भएको आन्तरिक बढुवाको फाइल रोकेर कर्मचारीलाई विभेद गरेको ठाकुरले बताउनुभयो। उहाँले प्राधिकरणलाई अल्टिमेटम दिइने र अल्टिमेटमको समयभित्र पनि फाइल अगाडि नबढाए कडा आन्दोलनमा उत्रिने बताउनुभयो। यता नागरिक उड्ययन प्राधिकरणले भने लोकसेवा आयोगले ’एस्योरेन्स लेटर’ माग गरेको र त्यसका लागि प्राधिकरण तयारीमा जुटेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्