मेलमिलाप बुझ्न भारतीय टोली



मोतीराम तिमल्सिना, काभ्रे
छिमेकी देश भारतबाट नेपालमा भएको मेलमिलापको अभ्यास तथा प्रगतिका बारेमा बुभ्mन आएको एक टोलीले जिल्लाका विभिन्न स्थानमा अवलोकन गरेको छ।

टोलीले जिल्ला अदालतमा भएको मेलमिलाप, सामुदायिक मेलमिलाप, जिल्लामा गठन भएको संवाद समूहमार्फतका गतिविधिहरू, बहुसरोकारवाला विवादमा भएको अभ्यास र त्यसपछिको अवस्थाका बारेमा स्थलगत अध्ययन गरेको थियो।

भारतको एउटा राज्यमा पानीको विवादमा काम गर्ने जल समूहका प्रतिनिधिहरू, भारतमा रहेको दि एसिया फाउन्डेसनका कर्मचारीहरू, कानुन व्यवसायीहरू उक्त टोलीमा सहभागी भएका थिए। नेपालबाट दि एसिया फाउन्डेसनका वरिष्ठ कार्यक्रम अधिकृत प्रिती थापा, कार्यक्रम अधिकृतद्वय नमित वाग्ले र सुमिना राई कार्कीको सहभागिता रहेको थियो। टोलीले जिल्लामा भूकम्पपछि गठन भएको संवाद समूहले विभिन्न विषयमा गरेको संवादका बारेमा भएका अभ्यासका बारेमा जानकारी लिएको थियो।

संवाद समूहले जिल्लामा भूकम्पपछि जमिनमा धाँजा फाटेर तथा पहिरोका कारण जोखिममा रहेका भूकम्पपीडितहरूले तत्काल आवास निर्माण गर्न नपाएको विषयमा छलफल गरेको थियो। काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पका कारण बोल्दे फेदिचे, नाग्रेगगर्चे, पोखरीचौरी, च्याम्ब्राङबेसी, पोखरीनारायणस्थान, शिखरआम्बोटे, सिसाखानी, चण्डेनी र महादेवस्थान गाविसका ६ सय ५० घरधुरी विस्थापित भएका छन्। उनीहरूको तत्काल पुनस्र्थापनाका लागि संवाद समूहमार्फत सरोकारवाला निकायलाई ध्यानार्कषण गराउने विषयमा छलफल भएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौड्यालले पीडितहरूको समस्या तत्काल सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने स्थानीय विकास अधिकारी टेकराज निरौलाले पीडितका बारेमा निर्णय गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पठाएको भए पनि निर्णय नभएकाले समस्या परेको बताउनुभएको थियो।

पुनर्निर्माण प्राधिकरणका जिल्ला प्रमुख ध्रुव गैडाले पीडितहरूको समस्या समाधानका लागि भूगर्भ विद्हरूलाई जानकारी गराइएकाले तत्काल निर्णयमा पुग्ने जानकारी गराएका थिए। उक्त क्षेत्रमा भूकम्पपीडितहरूले सम्झौता गरिसकेका छन् भने सम्झौता गरेका पीडितहरूले घर निर्माण गर्न पाएका छैनन्। केहीलाई रकम भुक्तानी गरिएको छ। सामुदायिक मेलमिलाप कार्यक्रम संयोजक सरिता सापकोटाले संवाद समूहमार्फत जिल्लाका विभिन्न विषयमा संवाद गर्न सकिने बताउनुभयो।

त्यस्तै फलाँटे र भुम्लुटारका सर्वसाधारणले अझै पहिलो किस्ता बापतको रकम जग्गाधनी पुर्जा प्राप्त नगरेकाले तत्काल प्राप्त गर्न प्राधिकरणले नियमावली संशोधन गरिसकेको नापी कार्यालयका अधिकृत ईश्वर शर्माले बताउनुभयो। प्राधिकरणका ध्रुव गैडाले उक्त गाविसका पीडितहरूको समस्याको समाधान तत्काल हुने बताउनुभयो। टोलीले बेलाखोले पाखा सामुदायिक वन अतिक्रमणका बारेमा बहुसरोकारवाला विवाद रूपान्तरणका बारेमा दाप्चा काशिखण्ड नगरपालिका पुगेरै जानकारी लिएको थियो।

प्रतिक्रिया दिनुहोस्