एमालेलाई पहिलो बनाउने निर्णय



काठमाडौं, (नेस)
नेकपा एमालेका जनवर्गीय संगठन र जातीय तथा पेशागत मोर्चाहरूको राष्ट्रिय भेलाले आगामी निर्वाचनमा पार्टीलाई बहुमतसहित पहिलो पार्टी बनाउने निर्णय गरेको छ।

पोखरामा सम्पन्न राष्ट्रिय भेलाले सम्पूर्ण शक्ति निर्वाचन जित्न खर्च गर्ने निर्णय गरेको हो। एमाले जनवर्गीय संगठनको भेलाले पार्टीमा नेताको नजिक हुन स्वागतका नाममा चाकडी र विमानस्थल तथा बसपार्कमा भिडभाड गर्ने प्रवृत्ति बढेको निष्कर्ष निकालेको छ।

घोषणापत्रमा भनिएको छ– ‘हाम्रा नेताहरूको सामाजिक प्रतिष्ठा, सम्मान र इज्जतको अझ अभिवृद्धि गर्दै तद्अनुकूल सम्मानजनक व्यवहार गर्न सम्वेदनशील छौँ। तर, नेताहरूलाई स्वागत गर्ने नाममा एयरपोर्ट र बसपार्कहरूमा अनावश्यक भिड जम्मा हुँदै व्यक्तिगत रूपमा नजिकिने आधार खडा गर्ने, अनावश्यक सामिप्यता दर्शाउने र त्यसैलाई सम्मान तथा मर्यादा गरेको ठान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सहमत छौं।’

भेलाले सबै जनवर्गीय संगठन र मोर्चाहरूमा संविधानबमोजिम समानुपातिक समावेशी सिद्धान्तअनुरूप नेतृत्व निर्माण गर्ने प्रतिवद्धता जनाएको छ। साथै फागुन १५ देखि गर्न लागेको तराई मधेस केन्द्रित मेची–महाकाली अभियानमा सबै जनसंगठन परिचालित हुने निर्णय गरेको छ।
‘आ–आफ्ना संगठनभित्र आपसी एकता, सहकार्य र एकअर्काको समस्याप्रति संवेदनशील हुनुपर्ने कुरामा जोड दिँदै हामी असल कमरेड्ली भावना विकास गर्न क्रियाशील रहनेछौँ’ –घोषणपत्रमा भनिएको छ।

जनसंगठनहरूका बीचमा रहेको दोहोरो–तेहेरो जिम्मेवारीको यथाशीघ्र अन्त्य गरी वर्गीय संयुक्त मोर्चाको अवधारणाअनुरूप सामाजिक रूपान्तरणमा सामूहिक रूपमा क्रियाशील हुने प्रतिवद्धता पनि राष्ट्रिय भेलाले गरेको छ।

गुटबन्दी, अनावश्यक हानाथाप र पदका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै पार्टीमा सोहीअनुरूपको आचरण र अभ्यास प्रतिविम्बित गराउन क्रियाशील हुनेछौं, घोषणापत्रमा भनिएको छ, औपचारिक कार्यक्रमहरूमा अनावश्यक तडकभडकलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

अतिथिहरूलाई लगाइदिने ब्याच, माला र खादाको अत्याधिक प्रयोगबाट हाम्रा कार्यक्रमहरू भद्दा एवम् खर्चिला भइरहेको निष्कर्ष निकाल्दै परम्परा र मञ्चमा ठूलो संख्यामा अतिथिको भिड थुपार्ने र आसन ग्रहणमा मूल्यवान समय खेर फाल्ने बोझिलो र खर्चिलो कार्यशैलीलाई सुधार गर्ने घोषणा गरेको छ।

संविधान संशोधनको राष्ट्रघाती प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दे भेलाले तराई मधेस, पहाड र हिमाली क्षेत्रमा रहने सबै नेपाली तथा सबै जातजाति र समुदायहरूबीचको एकता र सामाजिक सद्भाव प्रबद्र्धनको पक्षमा दृढ प्रतिवद्धता रहेको बताएको छ।

आन्तरिक मामिलामा व्यक्त गरिने अनावश्यक चासो र हस्तक्षेप कहिल्यै स्वीकार्य हुन नसक्ने निष्कर्ष निकाल्दै भेलाले छिमेकी र मित्र राष्ट्रहरूले पनि नपालको संवेदनशीलता तथा सार्वभौमसत्ताको सम्मान गर्न सम्बद्ध ध्यानाकर्षण गराएको छ। एमालेका २० वटा जनवर्गीय तथा जातीय क्षेत्रीय र पेशागत संगठनहरूका पदाधिकारीलाई पार्टीका शीर्ष नेताहरूले चुनाव केन्द्रित अभियानमा लाग्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्