जनसमाजवादी स्थानीय चुनावमा सहभागी हुने



काठमाडौँ, ११ माघ । जनसमाजवादी पार्टी नेपालले संविधानलाई आलोचनात्मक समर्थन गरी स्थानीय चुनावमा सहभागी हुने घोषणा गरेको छ ।

यहाँ सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष सुवासराज काफ्लेले राजनीतिक धारणा सार्वजनिक गर्दै उक्त पार्टीले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरे चुनावमा जाने बताउनुभयो ।

उहाँले नेपालमा धेरै कम्युनिस्ट पार्टी भएको भए पनि जनपक्षीय काम कसैले पनि गर्न नसकेको बताउँदै सो पार्टीले देशमा आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको जनताले अनुभव गर्ने गरी पर्यटनको विकास र ऊर्जा शक्तिको उत्पादन वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले विश्वमा कम्युनिस्ट सत्ता प्रतिरक्षामा रहेको बताउँदै नेपाल पनि यो प्रतिरक्षाको शिकार भइरहेको र कम्युनिस्ट नेताले जनताको हितभन्दा पनि व्यक्तिगत स्वार्थको लागि काम गरिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

पार्टीका उपाध्यक्ष केबी भट्टराईले पार्टीले संविधानलाई आलोचनात्मक कोणबाट स्वीकार गरेको बताउँदै आगामी दिनमा देश र जनताको पक्षमा राजनीतिक गतिविधि सञ्चालन गर्ने बताउनुभयो ।

पार्टीले कुल ६५ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरेको र सात प्रदेशका सात उपाध्यक्ष, एक महासचिवलगायत सबैको जिम्मेवारी पनि तोकिसकेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्