पार्टीहरू विदेशीको इसारामाः बिजुक्छे



भक्तपुर, (नेस)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा जाने पार्टीहरू विदेशीको इसारामा चल्ने गरेको आरोप लगाउनुभएको छ।

नेपाल मजदुर किसान पार्टीको ४३औं स्थापना दिवसको अवसरमा सोमबार भक्तपुरको दत्तात्रयमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र कसैले पनि जनताको पक्षमा काम गर्न नसकेको बताउनुभयो।

अहिलेसम्म सत्तामा जाने दलका नेताहरू विदेशीकै इसारामा चलेकाले जनताको पक्षमा काम गर्न नसकेको टिप्पणी गर्नुभयो। भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएको बताउनुहुँदै उहाँले भारतले नेपाललाई सके सिक्किमीकरण र नसके भुटानको स्तरमा पुर्याउन खोजेको बताउनुभयो। उहाँले माओवादी केन्द्रलाई भारतले बनाएको पार्टी भएको आरोप लगाउनुहुँदै जब जब माओवादीले सरकारको नेतृत्व गर्छ, तब तब भारतसँग देशलाई नोक्सान पुर्याउने गलत सम्झौता हँुदै आएको दाबी गर्नुभयो।

कार्यक्रममा सांसद एवं नेमकिपाका विदेश विभाग प्रमुख प्रेम सुवाल, सांसद एवं नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापा मगर, नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ, युवा नेता रवीन्द्र खर्बुजालगायतले देशलाई जोगाउन युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस्