भारतीय टोलीको सांस्कृतिक प्रस्तुति



काठमाडौं, (नेस)
भारतीय नाट्य तथा सांस्कृतिक कलाकारहरूको टोलीले सोमबार मुलुकका विभिन्न क्षेत्रमा आयोजित फरक–फरक कार्यक्रममा आफ्नो प्रस्तुति प्रस्तुत गरेका छन्। काठमाडौं, वीरगन्ज र जनकपुरमा कलाकारहरूले प्रस्तुति गरेका हुन्।

काठमाडौंस्थित भारतीय दूतावासको सांस्कृतिक केन्द्रको पहलमा सोमबार साँझ भारतको नागाल्यान्ड र तेत्सियो सिस्टर्सले भारतीय मौलिक पहिचान बोकेका सांस्कृतिक गतिविधि प्रस्तुत गरे। कार्यक्रममा नेपालस्थित विभिन्न मुलुकका आवासीय तथा अवैतनिक राजदूतहरू, विभिन्न क्षेत्रका प्राज्ञ, सामाजिक अभियन्ता, कानूनविद्हरू सहभागी थिए।

दुवै मुलुकबीचको वर्षौं पुरानो सांस्कृतिक सम्बन्धलाई अझ निकट बनाउने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरिएको भारतीय दूतावासले जनाएको छ। यसअघि दिउँसो जनकपुर र वीरगन्जको कार्यक्रममा नेपाली कलाकारहरूसमेत सामेल थिए। लिली भेन्ग सांस्कृतिक र नाट्य क्लब मिजोराम तथा तोइवी मनीपुरी नृत्य तथा सांस्कृतिक अनुसन्धान केन्द्र मणिपुरका कलाकारहरूको टोलीले जनकपुर र वीरगन्जमा आफ्नो प्रस्तुति प्रस्तुत गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

जनकपुरको कार्यक्रमको उद्घाट्न संस्कृति तथा पर्यटनमन्त्री जीवनबहादुर शाहीले गर्नुभएको थियो भने वीरगन्जमा स्थानीय विकासमन्त्री केशवकुमार बुढाथोकी मुख्य अतिथि रहनुभएको थियो। दुवै कार्यक्रममा भारतीय दूतावासका अधिकारीहरूसमेत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्