सडकका कुरा पार्किङ अभाव भो भन्छन् चालक



काठमाडौं, (नेस)
ट्राफिकः किन यसरी जहाँ पायो त्यहीं गाडी रोकेको ?
ड्राइभरः सरी सर, गल्ती भयो अब यसो गर्दिनँ।
ट्राफिकः खोई बिलबुक र लाइसेन्स दिनुस् त ?
ड्राइभरः नयाँ गाडी हो, अब कहिल्यै गल्ती गर्दिनँ सर।
ट्राफिकः खुरुक्क बिलबुक र लाइसेन्स दिनुस् नत्र जति बोल्यो त्यति रेट बढ्दै जान्छ।

यो चर्काचर्की हो– काठमाडौं रत्नपार्कबाट कीर्तिपुरका लागि छुटेको बा३ख ५२८७ नम्बरको बस चालक मनोज सिंह र बल्खु चौक नजिकै ड्युटी गरिरहेका ट्राफिक प्रहरीको। सिंह सवारी आवागमनमा बाधा पुर्याएको भन्दै ५ सय रुपियाँको चिट काट्न बाध्य भए। ट्राफिकले विनाकारण आफूलाई दुःख दिएको बस चालक सिंहको गुनासो छ। ट्राफिकले सिंहसँग लाइसेन्स माग्दा धेरै बोले रकमको रेट बढ्दै जाने जवाफ दिएका थिए। तर, सवारी ऐनमा सवारी आवागमनमा बाधा पुर्याए ५ सय रुपियाँभन्दा बढी लिन नपाइने प्रावधान छ।

सिंहले भने– ‘दिनभरि दुःख गर्छौं। अरू सवारीसाधनलाई बाधा नपुर्याउने गरी बस रोकेको थिएँ। ट्राफिक सापले जति बोल्दै गयो उति रेट बढ्दै जान्छ भन्नुभयो। मेरो अगाडिको सवारीले गल्ती गर्दा कारबाही गरेन। तर, म जरिवानामा परें।’ राज्यले सवारीसाधनको अनुपातमा ट्राफिक दरबन्दी सिर्जना नगर्दा ट्राफिक नियम उल्लंघनका घटनाहरू दिन प्रतिदिन बढ्दै गएका छन्।

काठमाडौं उपत्यकाभित्रका विभिन्न सडक खण्डहरू निर्माणाधीन अवस्थामा रहँदा र वैज्ञानिक रूपमा पार्किङको व्यवस्था नहुँदा सवारी चालक मारमा परेका छन्। ट्राफिकले व्यवस्थित तरिकाले पार्किङ गर्न त भन्छ तर, पार्किङ गर्ने ठाउँ नै नहुँदा आफू्हरू निकै हैरानी बेहोर्न बाध्य भएको मोटरसाइकल चालक सुलभ पोख्रेलले बताए। ट्राफिक नियम बनाइए पनि स्वयं सवारी चालक जिम्मेवार नबन्दा सवारी दुर्घटना हुने गरेको ट्राफिक बताउँछन्।
उपत्यकाभरि २ सयवटा रुटमा भाडाका १० हजारभन्दा बढी सार्वजनिक सवारीहरू आवतजावत गर्छन्। ट्राफिकले छड्के रूपमा विभिन्न स्थानमा सवारी चेकजाँच गरे पनि सवारी चालकहरूले निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने गरेका छन्। जसको प्रत्यक्ष असर पैदल यात्रुलाई पर्ने गरेको छ। सवारी आवागमनलाई व्यवस्थित गर्न र दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँचलाई कडाइ पारिएको ट्राफिकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्