सुन तस्करलाई कारबाही गर्न माग



नेपाल समाचारपत्र
काठमाडौं
एमाले सांसद प्रकाश ज्वालाले केही दिनअघि तस्करहरूले अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन भित्त्याएको विषय उठान गर्दै विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्त फितलो भएको बताउनुभएको छ।

सोमबार बसेको व्यवस्थापिका संसद्को बैठकमा बोल्दै उहाँले विमानस्थलबाट अवैध सुन भित्रने र डलर बाहिरिने गरेको बताउँदै तस्करीमा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभएको थियो। ‘विमानस्थलबाट अवैध सुन भित्रिएजस्तै हतियार भित्रियो भने के हुन्छ?’, सांसद ज्वालाले भन्नुभयो– ‘सुन तस्करीको सन्दर्भमा भरियाहरू मात्र पक्राउ पर्छन्, मालिकहरू किन पक्राउ पर्दैनन्?’
बैठकमा नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले विद्युत् चोरीको सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणका यसअघिका प्रमुख, ऊर्जा सचिव र ऊर्जामन्त्रीहरूलाई पनि छानविनको घेरामा ल्याउनुपर्ने माग गर्नुभएको थियो।
बैठकमा बोल्दै उहाँले भन्नुभयो– ‘बिजुली चोरीमा ठूला उद्योगी व्यापारी र विद्युत् प्राधिकरणका कर्मचारीहरू नै संलग्न भएको खुल्न आएको छ।’ महिनाको १०⁄१२ लाख तिर्नुपर्ने उद्योगी व्यापारीले ५० हजार रुपियाँ मात्रै तिरे हुने बनाइएको र यस्तो चोरीबाट वार्षिक ९ अर्ब रुपियाँभन्दा बढी प्राधिकरणको आम्दानी गुमेको सार्वजनिक भएको छ भन्दै उहाँले भन्नुभयो– ‘बिजुली चोरीमा संलग्न उद्योगी र कर्मचारीको तस्वीरसहित सम्पत्ति सार्वजनिक गर्नुपर्छ र उनीहरूलाई थुनामा राखी मुद्दा चलाइनुपर्छ।’

साथै यसअघिका प्राधिकरणका प्रमुख, ऊर्जा सचिव र ऊर्जामन्त्रीहरूलाई पनि छानविनको घेरामा ल्याइनुपर्ने उहाँको भनाइ थियो। बैठकमा बोल्दै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद सुबोधकुमार पोखरेलले सीके राउतले विखण्डनकारी गतिविधि गरेको भन्दै हदैसम्मको कारबाही गर्न माग गर्नुभएको थियो। सांसद पोखरलले सिरहामा देश टुक्र्याउने गतिविधि गरेर सीके राउतले देशद्रोही कार्य गरेको भन्दै राज्यविरुद्धको कार्य गर्ने अधिकार कसैलाई पनि संविधानले नदिएको बताउनुभएको थियो।

सांसद पोखरेलले संघीयता कार्यान्वयनका लागि पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेश बनाउनुपर्ने बताउँदै भन्नुभयो– ‘मुलुकमा संघीयता कार्यान्वयन गर्ने हो भने पाँच विकास क्षेत्रलाई प्रदेश बनाई संघीयता कार्यान्वयन गरौँ।’

बैठकमा सांसद शिवचन्द्र चौधरीले मुलुकमा विकास निर्माणको काम निकै सुस्त गतिमा भइरहेको गुनासो गर्नुभएको थियो। विकास निर्माणको काम सुस्त भएको उदाहरण दिँदै उहाँले भन्नुभयो– ‘जनकपुर र काठमाडौँको विमानस्थलको टर्मिनल निर्माण एकैचोटि शुरू भएकोमा काठमाडौँको सकिएको वर्षौं भइसके पनि जनकपुरको भने निर्माण कार्य शुरू पनि भएको छैन।’ सांसद श्रीमाया थकालीले राष्ट्रपति, न्यायाधीश र सभामुख महिला भएको मुलुकमा दिनदिनै महिला हिंसाका घटना भइरहेकोतर्फ सदनको ध्यानाकर्षण गराउनुभएको थियो। नेपालगन्जमा अनिशा खटीको महिला हिंसामा परेर ज्यान गएको छ भन्दै उहाँले उक्त घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभएको थियो।

सांसद हरिप्रसाद नेपालले निर्वाचनसम्बन्धी विधेयक पारित भएपछि मात्रै निर्वाचन घोषणा गर्नु उपयुक्त हुने बताउँदै राज्य व्यवस्था समितिबाट त्यससम्बन्धी विधेयक छिटो पारित गराउन दलहरूले आफ्ना सांसदलाई निर्देशन दिन आवश्यक रहेको धारणा राख्नु भएको थियो।
सांसद हरिबहादुर राजवंशीले हुलाकी राजमार्गअन्तर्गतका विग्ही, कन्काई, कमलाजस्ता नदीमा अझै पनि पुल निर्माण नभएको र नदीमा तटबन्ध नबन्दा धेरै खेतीयोग्य जमिनको कटान हुँदै आएको भन्दै ध्यानाकर्षण गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्