केयूलाई कोइकाको १ अर्ब सहयोग



मोतीराम तिमिल्सना, काभ्रे
काठमाडौ विश्वविद्यालय र कोइकाबीच नेपालको विज्ञान र प्रविधि विकासका लागि एक अर्बभन्दा धेरै रकमबराबरको विकास परियोजनामा हस्ताक्षर भएको छ। काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा दोस्रोपटक नियुक्ति भएलगत्तै उपकुलपति प्राडा. रामकण्ठ माकाजु श्रेष्ठले उक्त सम्झौतामा पहिलो हस्ताक्षर गर्नुभएको हो।।

सम्झौता पत्रमा कोरियास्थित कोइका हेडक्वटार कार्यालयका उपप्रमुख सुङ हो चोई र विश्वविद्यालयका उपकुलपति प्राडा. रामकण्ठ माकजु श्रेष्ठले हस्ताक्षर गरेका छन्। दक्षिण कोरिया सरकारले उक्त परियोजनाका लागि १० मिलियिन अमेरिकी डलर अर्थात नेपाली एक अर्बभन्दा धेरै रूपियाँबराबरको सहयोग गरेको हो।

उक्त रकम विश्वविद्यालयले नेपालको एकीकृत ग्रामीण विकासमा लगानी गर्नेछ। विश्वविद्यालयले मुख्य गरी ८ वर्षे परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवं प्रविधि क्षमता अभिवृद्धिका साथै नेपालीको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने विश्वास लिएको उपकुलपति माकजु श्रेष्ठले बताउनुभयो।

काठमाडौ विश्वविद्यालयको परिसरमा अत्याधुनिक अनुसन्धान केन्द्र एवं ग्रामीण क्षेत्रहरूमा उपकेन्द्रहरूको स्थापना गर्दै नेपालमा उचित अनुसन्धान र विकासको वातावरण सिर्जना गर्ने तथा नेपाली समुदायको विकास आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्य लिएको छ।

सम्झौताका क्रममा कोइका हेडक्वाटरका उपप्रमुख सुङ हो चोईले उक्त परियोजनाबाट नेपाली जनताको जीवनस्तर उकासिने र सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। परियोजना सफल बनाउन विश्वविद्यालयले सबै खाले संयन्त्र परिचालन गर्ने उपकुलपति श्रेष्ठले बताउनुभयो। सन् २०१४ मा कोइकाको अनुदानमा केयुमा प्राविधिक तालिम केन्द्रको स्थापना भइसकेको छ। जसमा दुर्गम क्षेत्रका युवाहरूलाई इन्जिनियरिङ क्षेत्रका विभिन्न अटोमोबाइल, विद्युत, मेकानिकलजस्ता विषयमा छोटा तथा लामा अवधिका तालिमहरू उपलब्ध गराउँदै आएको छ। कोइकाले सन् १९९१ देखि नेपाल सरकारले शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

माकजुलाई स्वागत
लामो रस्साकस्सीपछि दोस्रोपटक काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएका प्राडा. रामकण्ठ माकजुलाई काठमाडौं शिक्षण अस्पताल तथा धुलिखेल अस्पतालका तर्फबाट स्वागत गरिएको छ।

अस्पताल परिसरमा विशेष कार्यक्रमको आयोजना गरी माकजुको स्वागत गरिएको थियो। स्वागतका लागि अस्पतालमा कार्यरत विभिन्न विभागका डाक्टर तथा नर्सहरू, अन्य कर्मचारीहरू, विद्यार्थीहरू र शुभचिन्तकहरू सहभागी भएका थिए। माकजुको नियुक्ति सत्यको पक्षमा भएको भन्दै आगामी दिनमा विश्वविद्यालयको सोचअनुसारको लक्ष्यमा पुग्न सिंगो अस्पताल टिम माकजुको पक्षमा रहेको प्रतिवद्धतासमेत व्यक्त गरिएको थियो। माकजुको दोस्रो नियुक्तिसँगै कक्षाकोठाबाट समुदायसम्म पुग्न शुरू गरेको अभियानलाई सफल बनाइ ग्रामीण भेगमा विकासको अनुभूति गराउन विश्वविद्यालयले पहल गर्ने अस्पतालका निर्देशक डा. राजेन्द्र कोजुले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्