एटीएमबाट पैसा चोरी गर्ने भारतीय गिरोह पक्राउ



नेपाल समाचारपत्र
काठमाडौं
तपाईंलाई रकम निकाल्न आउछ ? मलाई त आउँदैन। लौन सिकाइ दिनुपर्यो। यसरी भन्दै गर्दा सोझा नेपालीले एटिएम चलाउन सिकाइ दिन्छ अनि केही बेरपछि रकम निकालेर टाप । अहिले एटिएम चलाउन नजान्नेलाई यसरीनै मुर्गा बनाउन सक्रिय गिरोहले राजधानीका करिब एक दर्जन एटिएम बुथबाट लाखौं रुपियाँ निकालेको पाइएको छ।

भारतको नयाँदिल्ली बस्ने निराजन मेहता र चण्डीगढका इक्तेदार खानले दर्जनौं नेपालीको रकम निकालेको तथ्य फेला परेको छ। दुईवटा एटिएम बुथ भएको स्थानमा गएर आफ्नो एटिएमकार्ड चलाएकोजस्तो गर्ने अनि अर्को व्यक्ति प्रवेश गरेपछि लौन मेरो त पैसा नै निक्लिएन सिकाइदिनुपर्यो भन्दै अरूको रकम निकाल्ने गरेको तथ्य प्रहरीले फेला पारेको छ।

हिन्दी भाषा प्रयोग गर्ने गरेको गिरोहले आफूहरू भारतदेखि आएको र केही नबुझ्ने गरेकाले सिकाइदिन आग्रह गर्ने गरेको प्रहरीको भनाइ छ। एटिएमबाट रकम निकाले लगत्तै बाहिरिएको केही बेरमा गिरोहले नेपालीको एटिएमबाट रकम निकाल्ने गरेको थियो।

एटिएमबाट रकम निकालेको करिब ४० सेकेन्डपछि एटिएम मेशिनले ‘डु यु वान्ट टु मोर’ भन्दा एस अप्सन थिचेपछि पुनः रकम निकाल्ने भएकाले गिरोहले आफूले सिक्ने बेलामा एस अप्सन थिच्ने र रकम निकालेर गएको केही बेरमै भारतीय गिरोहले रकम निकाल्ने गरेको प्रहरीको भनाइ छ।

गिरोहले राजधानीको ठमेल, दरबारमार्ग, माछापोखरी, महाराजगन्ज, न्युरोड, पुतलीसडकलगायतका दुईवटा वुथ भएको स्थानबाट रकम निकाल्ने गरेको प्रहरीको भनाइ छ। सीआईबीको टोलीले मेहत्ता र खानलाई ठमेलको एटिएम बुथबाट पक्राउ गरेको थियो। पक्राउ परेका दुबैले आफूहरूले एकपटकमा २५ हजार रुपियाँसम्म निकाल्ने गरेको र रकम निकालेको दिन विभिन्न क्यासिनोमा जाने गरेको प्रहरीसमक्ष बयान दिएका थिए।

एटिएमबाट रकम निकालेपछि डुयु वान्ट मोर भन्दा नो वा क्यान्सिल गर्ने बानी नभएका कारण गिरोहले एटिएमबाट रकम निकाल्न गरेको प्रहरीको भनाइ छ। एटिएम चलाउन नजान्दा गिरोहले सजिलै रकम निकाल्ने गरेको प्रहरी बताउछन्।
दुई भारतीय गिरोहले आधा दर्जन प्रहरीकैसमेत रकम निकालेको खुल्न आएको छ।

राष्ट्रिय वाणिज्य बैंक र एभरेस्ट बैंकको एटिएमबाट रकम निकालेको प्रहरीको भनाइ छ। ढिलो म्यासेज आउने एटिएमको बुथबाट रकम निकाल्न मिल्ने भएकाले दुई जनाले अधिकांश रकम वाणिज्य बैंकबाट निकालेको अनुसन्धानको क्रममा खुलेको छ। सीआईबीकाअनुसार करिब तीन दर्जनभन्दा व्यक्तिको रकम निकाल्न सफल उनीहरूको विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्