डेढ महिनादेखि मदरसा बन्द



चन्द्रौटा, (नेस)
विद्यानगर ४, बसवरियाकी १० वर्षीय दरक्सन खातुन आजकल बाख्रा चराएर दिन विताउँछिन्। गाउँमा रहेको मदरसामा कक्षा ४ मा पढ्ने उनी मदरसा नै डेढ महिनादेखि बन्द भएपछि बाख्रा चराउनमै उनको दिन बितेको छ। उनीसँगै पढ्ने तलातुन निशा पनि पढाइ नै नभएपछि दिनभर खेल्ने, बाख्रा चराउने मै दिन बितेको बताउँछिन्।

गाउँकै मदरसाको कक्षा ३ मा पढ्ने अमिरुन बानुको दैनिकी पनि दिनभर खेल्नमै बितेको छ। उनीजस्तै कक्षा २ मा पढ्ने वारिस अलि, कक्षा १ का अजमत अलि पनि दिनभर खेलेर दिन बिताउँछन्। उनीहरूजस्तै मदरसामा पढ्ने १ सय २५ जना मुस्लिम बालबालिकाहरू डेढ महिनादेखि खेलेरै दिन कटाउने गरेका छन्।

गाउँमा हिन्दू र मुस्लिमबीच झपडका क्रममा एक जनाको मृत्यु भएपछि डेढ महिनादेखि गाउँ नै सुनसान छ। डर त्रासका कारण मदरसामा पढाउने मौलानासमेतले गाउँ छाडेर भागेपछि डेढ महिनादेखि मदरसा नै बन्द छ। अहिलेसम्म मदरसा नखुल्दा त्यहाँ अध्ययनरत मुस्लिम बालबालिका पढाइ नै अस्तव्यस्त छ। बालबालिकाहरू खेलेरै दिन बिताउन बाध्य छन्।

मुस्लिम बालबालिकाका लागि स्थानीयले ‘जामिया मदरसा अहले सुन्नत गुल्सनी रजा’ नामक मदरसा सञ्चालन गरेका छन्। मदरसामा कक्षा ४ सम्मको पढाइ हुने गर्छ, स्थानीयको भनाइ छ। मदरसामा अरबी, हिन्दी, अंग्रेजीलगायतका विषय पठनपाठन हुने गरेको छ। मदरसामा हाल १ सय २५ विद्यार्थी छन्। जसमध्ये कक्षा ४ मा २ विद्यार्थी, ३ मा एक जना, कक्षा २ मा १४ जना र कक्षा १ मा १ सय ८ जना विद्यार्थी अध्ययनरत छन्। तर डेढ महिनादेखि मदरसा नै सञ्चालनमा नआएपछि गाउँका बालबालिका खेलेरै दिन कटाउन बाध्य भएको स्थानीय नाजिमा बढईले गुनासो पोख्नुभयो।

प्रतिक्रिया दिनुहोस्